
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन्। जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिएका छन्। तीमध्ये ३७९ पुरुष र २१९ महिला रहेका छन्।
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोबाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताएका छन्। त्यस्तै, क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले जनाएका छन्।
आर्थिक वर्ष २०७९/८० मा १,०४५ तथा आव २०८०/८१ मा १,२६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको उल्लेख गरे। 'समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ,' उनले भने, 'सरुवा रोग भएकाले विशेष खोजपड्ताल अभियान चलाउनु जरुरी छ।' नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले जनाए।
जिल्लामा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ देखि ५५ वर्ष उमेर समूहका धेरै छन्। झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या बढी रहेको स्रोतव्यक्ति दास बताउँछन्। जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ। औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम दिइन्छ।
सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका— शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ। सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त राष्ट्र घोषणा गर्ने सरकारी लक्ष्य रहेको छ।
क्षयरोग के हो ?
श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ। क्षयरोग भएका बिरामीले खोक्दा वा हाच्छिउँ गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ। क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ। त्यस्तै, मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि यसको असर पर्न सक्छ।
कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआईभी सङ्क्रमित तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिममा पर्छन्। तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन्।