
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुगेका ओलीले दुवै जनाको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनीहरूको स्वास्थ्यमा सुधार आएको जनाउँदै अस्पतालले अहिले कै अवस्था रहेमा शल्यक्रिया गर्नु नपर्ने जनाएको छ ।
'घाउ जाँचको क्रममा Second Degree Superficial गहिराइ भएको पाइएको छ । सोही अवस्था यथावत् रहे शल्यक्रिया गर्नुपर्ने छैन,' अस्पतालद्वारा जारी पछिल्लो विज्ञप्तिमा उल्लेख छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। पोखरामा प्राथमिक उपचारपछि उनीहरूलाई शनिबार नै हेलिकप्टरमार्तफ काठमाडौं ल्याइएको थियो ।
आइतबार बिहान अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
