
एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न नवौं बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिएको हो ।
समितिका सदस्य विनोद कुँवरका अनुसार बैठकले सदस्यता दर्ता गर्नको लागि मिति थप गर्ने निर्णय गरेको छ । अब सदस्यता दर्ता ३१ मार्च २०२५ सम्म गर्न सकिने उनको भनाइ छ ।
यसका साथै बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ भने सदस्यता दर्ता गर्दा आईसीसीद्वारा लिइने शुल्क महाधिवेशनमा नलिने निर्णय गरेको कुँवरले बताए । राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूले आफ्ना देशका नियमानुसार शुल्क तोक्न सक्ने निर्णय गरिएको छ।
यस्तै बैठकले राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यदि कुनै एनसीसीको समितिले उक्त मितिभित्र निर्वाचन सम्पन्न गर्न नसक्ने भए एनसीसीले उपसमिति मार्फत उच्चस्तरीय समितिसँग सहमति गरेर महाधिवेशनका लागि नयाँ मिति निर्धारण गर्न सक्ने निर्णय गरिएको कुँवरको भनाइ छ ।
यस्तै महाधिवेशनको तयारीको सिलसिलामा बैठकले प्रमुख अतिथि र अन्य अतिथिहरूलाई निमन्त्रणा गर्न सुरु गर्ने निर्णय गरेको छ भने मुल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइट मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ ।