३० जेठ २०८३, शनिबार

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष, एउटा दानाको ६० लाखसम्म पर्छ

फागुन ५, २०८१
भोजपुर
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष, एउटा दानाको ६० लाखसम्म पर्छ

रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । 

जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी  सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एकाइस मुखे मुखद्धार एउटा दाना रु २० लाखदेखी ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए  ।

“मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भने,“मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना रु २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।”आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्धार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।
 
त्यस्तै १३ मुखे रु पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा रु दश  हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे रु ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे रु ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ । विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहनामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रुख मर्ने समस्या देखिएको उहाँको भनाइ छ ।  

विगतमा प्राकृतिक रुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरिय मुखदार दाना फल्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमि आएको उनको भनाइ छ । 

उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताए । रुद्राक्षलाई वन पैदावरको रुपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ । 

रुद्राक्षलाई  राज्यले नगदेबालीको रुपमा राखिदिए थप सहजता हुने उनले बताए । 

षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् । भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिए । 

जिल्लामा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत निर्यात हुने रुद्राक्ष व्यवसायीको भनाइ छ ।  यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ । 

भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा  विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ । रुद्राक्ष समुद्री सतहदेखी एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।  

salt training

कमेन्ट गर्नुहोस्