
भारत उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला सहभागी भएर फर्किँदै गर्दा भएको सवारी दुर्घटनामा परी ३ जना नेपाली तीर्थालुको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिकाका पूर्व मेयर हिराबहादुर खत्रीको नेतृत्वमा शुक्रबार ३५ जनाको टीम कुम्भमेला प्रस्थान गरेको थियो । मेलामा स्नान गरी फर्किँदै गर्दा ७ जना सवार कार डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी देवदह–९ भलूहीका गणेश खनाल, दीपा खनाल र ४० वर्षकी गीता शर्माको निधन भएको इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली) का प्रहरी निरीक्षक (इन्स्पेक्टर) मुकेश न्यौपानेले जानकारी दिए ।
देवदहका सफल व्यवसायी तथा परिवारको एक्ला छाेरा (४५) गणेश र दीपा (३५) श्रीमान/श्रीमती हुन् । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले पूर्वमेयरको नेतृत्वमा ३५ जनाको टीम शुक्रबार कुम्भमेला गएको र त्यसै टोलीमध्येको एउटा गाडी दुर्घटनामा परेको बताइन् ।
‘कुम्भ मेला सकेर फर्किँदै गर्दा सोमबार बिहान ५ बजे गोरखपुरनजिकै उहाँहरू सवार कार सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ,’ गुरुङले लोकान्तरसँग भनिन्, ‘५ वटा कारमा सुनौलीबाट गएका रहेछन् । एउटा कार दुर्घटनामा परेछ । घाइतेहरूको भारतमै उपचार भइरहेको छ ।’
यूपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय कार शुक्रबार बिहान आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सवारी चालकसहित ५ जना घाइते भएका छन् ।
घाइते हुने मा देवदह– ९ भलूहीकी कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुवे रहेका छन् ।
उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर पठाइएको छ । चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।
गणेश देवदहका सफल व्यवसायी हुन् । परिवारका एक्ला छोरा/बुहारी स्नान गर्न जाँदा ७० वर्षका बुवाले नजाऊ भनेका थिए । दुर्घटनामा छोराबुहारी उतै अस्ताएपछि दुई नातिनातिनाको जिम्मेवारी वृद्ध बुवाको काँधमा आएको छ ।
दुर्घटनाका कारण भलूही शोकमा डुबेको स्थानीय ऋषिराम सापकोटाले बताए ।
‘गणेश भलूहीका सफल व्यवसायी तथा मिलनसार व्यक्ति थिए,’ सापकोटाले भने, ‘दुई छोराछोरी स्थानीय बोर्डिङ स्कूलमा पढ्छन् । एक्लो छोरा र बुहारी दुर्घटनामा परेर अस्ताएको खबर वृद्ध बुवालाई कसरी सुनाउनु, गाह्रो भयो ।’
गणेशकी आमाको पनि केही वर्षअघि निधन भइसकेको थियो । दुई छोराछोरी र ७० वर्षका बुवालाई सोमबार खाना खान आइपुग्छौं भनेर उनीहरू शुक्रबार भारत प्रस्थान गरेका थिए । गीताको घरमा पनि बुधबार विवाह कार्यक्रम थियो ।
परिवारका धेरैले नजान अनुरोध गर्दा पनि उनी सबै नजिकका छन्, जान्छु भनेर हिँडेको सापकोटाले लोकान्तरसँग बताए । देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले दुःखद दुर्घटनाले देवदह शोकमा डुबेको बताए ।
मृतकको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ । भारतको प्रयागराजमा १४४ वर्षमा हुने महाकुम्भ मेला यसवर्ष चलिरहेको छ ।
कुम्भ मेला भने हरेक १२ वर्षमा चल्छ । दैनिक एक करोडभन्दा बढीले नदीमा स्नान गर्ने यो पवित्र स्थलमा भारतको सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगम समेत छ ।