
काठमाडौं, ६ मंसिर — बोस्नियाको पूर्व सर्ब कमान्डर रात्को म्लादिकलाई सन् १९९० को दशकमा भएको बोस्नियाली युद्धका बेलामा भएको नरसंहारका लागि दोषी ठहर गरिएको छ ।
बोस्नियाका कसाहीको रूपमा चिनिने म्लादिकविरुद्ध मानवताविरुद्धको अपराधलगायत ११ वटा अभियोग थिए । संयुक्त राष्ट्रसंघको न्यायाधिकरणले उनको मुद्दा हेरिरहेको थियो ।
सन् १९९५ मा स्रेब्रेनिका नामक स्थानमा सात हजारभन्दा बढी बोस्नियाली पुरुष तथा किशोरहरूको हत्या गरेको अनि सारायेभोमा दश हजारजना भन्दा बढीको मृत्युमा उनको संलग्नता रहेको भनी कसूरदार ठहर गरिएको थियो ।
म्लादिकलाई जन्मकैदको सजाय सुनाइएको छ ।
यी ७४ वर्षीय पूर्वकमान्डरलाई सजाय सुनाइएपछि उनी न्यायाधीशहरूविरुद्ध चिच्याएका थिए । त्यसपछि उनलाई अदालतकक्षबाट बाहिर लगियो । उच्च रक्तचापका कारण उनको मुद्दाको सुनुवाइ रोक्नुपर्ने मागलाई खारेज गरिएको थियो ।
अदालती सत्र शुरु हुँदा उनी सहज अवस्थामा देखिन्थे अनि क्यामरातर्फ हेर्दै हाँसेका थिए ।
इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल फर द फर्मर युगोस्लाभियाले सन् २०१२ देखि उनको मुद्दामा पुर्पक्ष गरिरहेको थियो । उनको मुद्दा नै अदालतको अन्तिम मुद्दा हो ।
बीबीसीबाट