१८ असार २०८३, बिहीबार

उडिसा घटना : कुनै समस्या भए सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

फागुन ५, २०८१
काठमाडौं
उडिसा घटना : कुनै समस्या भए सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

भारतस्थित नेपाली दूतावासले उडिसा राज्यस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय घटनाबाट प्रभावित विद्यार्थी र अभिभावकलाई कुनै समस्या भए सम्पर्क गर्न आग्रह  गरेको छ । 

घटनाका विषयमा दूतावासले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिसँग छलफल गरेको छ, नेपाली विद्यार्थीलाई पुनर्स्थपानका लागि पहल गरेको र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको जनाउँदै केही समस्या परे सम्पर्क गर्न आग्रह गरेको हो ।

प्रभावित विद्यार्थी एवं अभिभावकहरूले दूतावासको इमेल ठेगाना [email protected] वा
हटलाइन नम्बर +९१ ८९२९ ६०१ ९२५  मा सम्पर्क गर्न सकिने जनाएको छ । 

दूतावासले गरेको आग्रह अनुसार विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको दूतावासले जनाएको छ । 
 
‘साथै, यस राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व. प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ ।’
 
घटनाका सम्बन्धमा दूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिशाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । 

विश्वविद्यालयमा बी टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार साँझ छात्रावास परिसरमा मृत भेटिएकी थिइन् । 

प्रकृतिको मृत्युपछि क्याम्पसमा रहेका नेपाली विद्यार्थीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थिए । 

तनाव बढ्दै गएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ । तर, सोमबार विश्वविद्यालयले एक अपिल जारी गर्दै नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्किन र कक्षा शुरू गर्न आग्रह गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्