
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
खेलको अन्तिम समयसम्म दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले विश्वकप इतिहासकै सबैभन्दा नाटकीय पुनरागमन जित दर्ता गरेको छ।
नेपाली समयअनुसार बिहीबार बिहान भएको 'राउन्ड अफ ३२' को खेलमा सेनेगललाई ३–२ ले पाखा लगाउँदै बेल्जियम विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो।
००००
फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै आयोजक संयुक्त राज्य अमेरिका प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
सान फ्रान्सिस्को वे एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा अमेरिकाले १० खेलाडीमा सीमित भए पनि उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्योक।
००००
फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा इंग्ल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो लाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले नायक सावित भए । उनले अन्तिम १५ मिनेटमा गरेको दुई उत्कृष्ट गोलले सम्भावित हारबाट टोलीलाई जोगाउँदै पुनरागमन जित दिलाएका हुन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमी–कमजोरी सुधारेर अघि बढ्ने बताएका छन्।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्या उने अठोट व्यक्त गरे।
००००
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।
गृह मन्त्रालयद्वारा बुधबार जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको देखिएको विषयमा औपचारिक स्पष्टीकरण दिएको छ ।
पार्टीले सार्वजनिक भएको तथ्यांक अन्तिम सदस्यता अभिलेख नभई प्रमाणीकरण नभएका प्रारम्भिक आवेदनहरूको विवरण मात्र भएको जनाएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन् ।
त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।
००००
टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गरेका छन् ।
आफू तनाब, रिस र पारिवारिक विवादका कारण घटनास्थलसम्म पुगेको र ईश्वरीको घाँटी रेटेर हत्या गरेको बयान दिएका छन् ।
००००
अध्यागमन विभागले ललितपुरको धोबीघाट र कीर्तिपुर–६, चोभारमा गरेको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।
धोबीघाटस्थित एक घरमा २२ जना चिनियाँ नागरिक फेला परेका थिए, जसमध्ये अधिकांश पर्यटक भिसामा नेपालमा बस्दै आएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू चोभारस्थित ट्रेजर्स प्रा.लि. र ड्रागन ब्रिज इन्टरनेशनल प्रा.लि.सँग आबद्ध भएर भिसाको उद्देश्यविपरीत काम गरिरहेको आशंका गरिएको छ ।
००००
नेपालको प्रशासनिक केन्द्र सिंहदरबारमा यतिबेला एउटा गम्भीर र फरक खालको तरंग पैदा भएको छ ।
देश चलाउने मुख्य खम्बा मानिने कर्मचारीहरू, सेवा अवधि बाँकी छँदै आफ्नो जागिर छाडेर बाहिरिन थालेका छन् ।
चालू आर्थिक वर्षको असार महिनाका १५ दिन (असार १ देखि १५ गतेसम्म) को तथ्यांक हेर्ने हो भने स्थिति निकै चिन्ताजनक छ । यस अवधिमा मात्रै ८२ जना निजामती कर्मचारीले सेवा अवधि पूरा नहुँदै राजीनामा बुझाएका छन् ।
००००
सर्वोच्च अदालतको पूर्ण इजलासले खुला प्रतिस्पर्धाबाट एकैदिन नियुक्त भएका निजामती कर्मचारीहरूको ज्येष्ठता कार्यालयमा हाजिर भएको दिनका आधारमा नभई नियुक्ति पाएको मितिबाटै गणना हुनुपर्ने फैसला गरेको छ ।
सर्वोच्चले यसअघि हाजिर भएको मितिलाई आधार मानी प्रतिपादन गरिएको नजिरलाई ‘भावी प्रभावका साथ निष्प्रभावी’ समेत गरिदिएको छ ।
००००
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बुधबारको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।
अध्यक्ष दाहालले भने, 'राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।'
००००
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ ।
मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोग प्रमुखको जिम्मेवारी पूर्वन्यायाधीश लेखनाथ पौडेललाई दिएको छ ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले पौडेललाई आयोगको प्रमुख बनाउने निर्णय गरेको सहमहामन्त्री हरि ढकालले जानकारी दिए । त्यसअघि रास्वपाका सबै केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले शपथ गराएका थिए ।
००००
कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
धानबालीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया अघि बढाएको जनाएको छ।
००००
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती भएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ सरचार्ज दर पनि सोहीअनुसार निर्धारण गरी बुधबारदेखि नै लागू गर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको हो ।