१७ असार २०८३, बुधबार

उजिरसिंह रंगशाला निर्माण गर्न बजेट तथा अख्तियारी प्रदान गर्ने लुम्बिनी सरकारको निर्णय

फागुन ६, २०८१
बुटवल
उजिरसिंह रंगशाला निर्माण गर्न बजेट तथा अख्तियारी प्रदान गर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि तीन करोड बजेट विनियोजन गरेको थियो । उनका अनुसार अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइने छ । 

यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत् सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।

रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको थियो । हाल निर्माण प्रक्रियालाईअघि बढाउन प्रदेश सरकारको मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिअनुसार आवश्यक बजेट व्यवस्थापनको निर्णय लिएको हो ।

यस्तै, बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणका उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । भू–प्रविधि विज्ञ मन्दीप सुवेदी र कानून विज्ञ पदमप्रसाद वैदिकले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्