
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका स्टार क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले एक खेलको प्रतिबन्ध लगाएपछि यसबारे चासो व्यक्त भइरहेको छ ।
जनकपुरमा आयोजित जय ट्रफी क्रिकेट प्रतियोगितामा अम्पायरसँग भएको विवादको विषय बढ्दै जाँदा सन्दीपमाथि एक खेलको प्रतिबन्ध लागेको हो ।
सन्दीपमाथि प्रतिबन्धसम्म नै यो प्रकरण कसरी पुग्यो, त्यसको कथा लामो छ । अर्का एक राष्ट्रिय क्रिकेटर पनि यसबीचमा अनुशासनको कारबाहीमा परेका छन् । तर, उनले आफ्नो गल्ती स्वीकार गर्दा विषय यति अगाडि बढेको छैन ।
धनगढीमा सम्पन्न अर्जुन ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा क्रिकेट आचारसंहिताविपरीत गतिविधि गरेको कसूरमा नेपालका चर्चित क्रिकेटर भीम सार्कीलाई कारबाहीका लागि सिफारिश गरिएको थियो । उनलाई लेभल वानअन्तर्गत नसिहतसहित वान डिमेरिट प्वाइन्टको कारबाही गर्न क्यानलाई सिफारिश गरिएको हो ।
१० फेब्रुअरीका दिन सीवाईसी अत्तरिया र फ्रेन्ड्स युथ क्लब डडेल्धुराबीच फाइनल खेल हुँदै थियो । सोही क्रममा अत्तरियाका तर्फबाट खेलिरहेका ब्याट्सम्यान सार्कीलाई अन फिल्ड अम्पायर इनामुद्दिन हलुवाइले गलत आउट दिएका थिए ।
बलरले फालेको बल पहिले ब्याटमा लागेको भए पनि अम्पायर हलुवाइले उनलाई लेग बिफोर द विकेट (एलबीडवल्यू) आउटको निर्णय दिएका थिए । अम्पायरले आउटको निर्णय गर्दै औंला उठाएलगत्तै आक्रोशित भएका सार्कीले तत्काल आवेगमा आएर ब्याट पिचमै फालेर प्रतिक्रिया जनाएका थिए ।
टेलिभिजनमा भिडियो फुटेज हेर्दा सार्की नटआउट थिए । बल पहिले ब्याटमा लागेर मात्र उनको प्याडमा लागेको थियो । रिभ्यू सिस्टम नभएको अवस्थामा अन फिल्ड अम्पायरले दिने निर्णय नै अन्तिम हुन्छ, चाहे त्यो निर्णय सही होस् वा गलत ।
अम्पायरले दिएको निर्णयलाई खेलाडीले पनि सहर्ष स्वीकार गर्नुपर्छ । तर, खेलका क्रममा कतिपय खेलाडीले 'हिट अफ द मोमेन्ट'का कारण तत्काल आक्रोश व्यक्त गर्ने, ब्याट पिचमै फालेर आफ्नो प्रतिक्रिया जनाउने गर्छन्, जुन खेलाडीको आचारसंहिताविपरीत हो ।
सोही कसूर अन्तर्गत अन फिल्ड अम्पायरको सिफारिशमा म्याच रेफ्रीले सार्कीलाई लेभल वानअन्तर्गतको सजाय सिफारिश गरेका हुन् । सार्कीले सोही दिन म्याच सकिएपछि अम्पायर र म्याच रेफ्रीका सामु विनम्र भावले आफ्नो गल्ती स्वीकार गरेका थिए । म्याच रेफ्रीले लगाएको नसिहत र डिमेरिट प्वाइन्ट वानको चार्जलाई उनले सहर्ष स्वीकार गरे ।
म्याच अफिसियलले गरेको कारबाहीको रिपोर्टमा उनले हस्ताक्षर पनि गरे । सार्कीले आफ्नो गल्तीलाई स्वीकार गरेर खेल भावनालाई सम्मान गरेको भन्दै पछि म्याच अफिसियलले नै प्रशंसा गरेका थिए । सो खेल सार्कीकै टीमले जितेको थियो ।
तर, त्यस्तै कारबाही नेपालका अर्का चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई गर्दा उनले भने स्वीकार गरेनन् । आफूलाई कारबाही गर्ने हो भने गलत निर्णय दिने अम्पायरलाई पनि कारबाही हुनुपर्ने अडान लामिछानेले लिए ।
केही महिनाअघि जनकपुर र वीरगञ्जमा सम्पन्न भएको जय ट्रफीका क्रममा लामिछानेलाई कारबाहीका लागि म्याच अफिसियलले क्यानलाई सिफारिश गरेका थिए ।
क्यान स्रोतका अनुसार ८-९ जनवरीका दिन जनकपुरमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच भएको खेलमा विनय कुमार र हिरालाल राउत अन फिल्ड अम्पायर थिए भने आरके यादव रिजर्भ अम्पायर थिए । उक्त म्याचका दौरान बागमती प्रदेशका कप्तान समेत रहेका लामिछानेको व्यवहार स्पोर्टिङ कल्चरबमोजिम पाइएको थिएन ।
लामिछानेले बलिङ गर्ने क्रममा आर्मी टीमका ब्याट्सम्यानहरूलाई होच्याउनु, अपशब्द बोल्नुका साथै गलत व्यवहार प्रदर्शन गरेको विपक्षी टीमका खेलाडी बताउँछन् ।
त्यसैगरी, फिल्डिङ गर्दा दर्शकसँग पनि उनको पटक–पटक वादविवाद भएको थियो ।
ती सबै कुरा म्याचको प्रत्यक्ष प्रसारण गरिरहेको टेलिभिजन फुटेजमा पनि देखिएको थियो । ती सबै कुरालाई म्याच अफिसियलले नियालिरहेकै थिए ।
झन्डै बेलुकाको ५ बजेतिर पनि अन फिल्ड अम्पायरले खेल जारी नै राखेका थिए । सोही क्रममा बागमती प्रदेशका ब्याट्सम्यान शुभ कंशाकार आउट भए । कंशाकार आउट भएलगत्तै लामिछानेले खेल्नका लागि लाइट पर्याप्त नभएको भन्दै आपत्ति जनाए । खेल रोक्न अनधिकृत माग गरे ।
उनले जनाएको आपत्ति तथा खेल रोक्न माग गर्दै अन फिल्ड अम्पायरसँग गरेको नोकझोक तथा वादविवाद टिभी फुटेजमा पनि प्रस्ट देखिएको थियो ।
पर्याप्त लाइट छ कि छैन भन्ने कुरा यकिन गर्नका लागि आवश्यक पर्ने लाइट मिटर क्यानले उपलब्ध नगराएका कारण त्यस विषयमा फिल्ड अम्पायर वा म्याच रेफ्रीले निर्णय लिन गाह्रो थियो ।
अन्ततः त्यो दिन खेल केहीबेर जारी रहेर पछि मात्र रोकियो । क्याप्टेनले म्याच सकिएपछि क्याप्टेन्स रिपोर्ट पनि लेख्नुपर्ने हुन्छ । त्यसदिन लामिछानेले तीन बुँदामा आफ्नो कुरा लेखे । ‘अम्प्यार फोर्स्ड अस टु प्ले इन डार्क’, ‘नो स्ट्यान्ड एन्ड फर्म डिसिजन टेकन’, ‘फ्यु इरर्स इन डिसिजन मेकिङ’ सन्दीपले लेखेको क्याप्टेन्स रिपोर्टमा उल्लेख थियो ।
त्यसको भोलिपल्ट लामिछानेले अम्पायरको विषयमा सामाजिक सञ्जाल फेसबूकदेखि इन्स्टाग्राममा स्टाटस लेखे । ‘नेपालमा खेलको उचित विकासका लागि निर्णायक (अम्पायर) को स्तर सुधार गर्नु अनिवार्य छ। खेलाडीहरूले आफ्नो मेहनत र भविष्यलाई अम्पायरको निर्णयमा भर पर्नुपर्ने हुन्छ, तर यदि गलत निर्णयहरू बारम्बार दोहोरिन्छन् भने त्यसले उनीहरूको मनोबल गिराउँछ र खेलको विश्वसनीयता समेत प्रभावित हुन सक्छ । यदि कप्तानहरूले आफ्नो रिपोर्ट दिँदा पनि सुधार देखिँदैन भने यो समस्या सम्बोधन गर्न थप प्रभावकारी उपायहरू अपनाउनु आवश्यक देखिन्छ । अम्पायरहरूको तालिम, टेक्नोलोजीको उपयोग र समीक्षा प्रणाली लागू गर्नु महत्त्वपूर्ण हुन सक्छ । आशा गरौं, सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीर रूपमा लिएर आवश्यक सुधारको पहल गर्नेछन्,’ लामिछानेले सामजिक सञ्जालमा लेखे ।

लामिछानेले सामजिक सञ्जालमा समेत लेखेपछि म्याच रेफ्री मनोहर अधिकारीले कारबाहीका लागि क्यानलाई सिफारिश गरे । लामिछानेविरुद्ध क्यानको आचारसंहिताको बुँदा नम्बर २.७ बमोजिम सस्पेन्सन लेभल वानअन्तर्गतको कारबाही गर्न पत्राचार गरियो ।
लामिछानेले क्यानको आचारसंहिताको बुँदा नम्बर २.७ विरुद्ध सामाजिक सञ्जालमा क्यान तथा म्याच अफिसियलस विरुद्ध लेखेको, अन्य विवादास्पद गतिविधि गरेको, विपक्षी खेलाडीसँग अपशब्द बोलेको, दर्शकसँग विवाद गरेको, अम्पायरसँग विवाद गरेको हुनाले क्यान अन्तर्गतको कुनै पनि टी२०, एकदिवसीय, जिल्ला, क्षेत्र वा राष्ट्रिय म्याचको पहिलो म्याच खेल्न नपाउने गरी कारबाही गर्न म्याच रेफ्रीले क्यानलाई सिफारिश गरे ।
उक्त कारबाहीका लागि सिफारिश गरिएको रिपोर्ट स्वीकार गरी हस्ताक्षर गर्न म्याच रेफ्रीले लामिछानेलाई पटक–पटक अनुरोध गर्दा पनि उनले मानेनन् ।
त्यसपछि लामिछानेको हस्ताक्षरविना नै रेफ्रीले क्यानलाई रिपोर्ट पठाए ।
त्यसपछि उक्त कसूरबमोजिमको कारबाही किन नगर्ने भनेर क्यानले लामिछानेलाई स्पष्टीकरण सोध्यो । स्रोतका अनुसार आफूलाई कारबाही गर्ने हो भने गलत डिसिजन गर्ने सम्बन्धित अम्पायरलाई पनि कारबाही हुनपर्ने मागसहित उनले स्पष्टीकरणको जवाफ दिएका थिए ।
त्यही क्रममा १८ जनवरीका दिन उनले पुनः अर्को स्टाटस लेखे ।
‘धन्यवाद सबैलाई, हरेक कुराका लागि । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय जनताले सधैं मेरो साथ दिएका छन्, मेरो यात्राको हरेक चरणमा अटूट समर्थन प्रदान गर्दै । तपाईंहरूको माया र हौसला मेरा लागि अनमोल छ र सधैं मेरो हृदयमा विशेष स्थान रहनेछ । शब्दहरू भन्दा पर कृतज्ञ छु,’ लेखेर रिटायर हुन लागेको जस्तो आशय प्रकट गरे ।

उनको जवाफ चित्त बुझ्दो नभएको ठहर गर्दै म्याच रेफ्रीको सिफारिशबमोजिम पहिले हुने कुनै पनि खेलमा उनलाई प्रतिबन्ध लगाउने निर्णयसहितको कारबाही भयो । उक्त कारबाही अहिले कार्यान्वयन भएको छैन ।
नेपाली क्रिकेट टीमकै नेतृत्व गरिसकेका पूर्व कप्तान सन्दीप लामिछानेले नेपालका अम्पायरको विषयमा उठाएका सवाललाई क्यानले पनि सम्बोधन गर्नु आवश्यक देखिन्छ ।
‘पछिल्लो समय नेपालको क्रिकेटको स्तर अन्तर्राष्ट्रिय स्तरमै वृद्धि भइरहेका बेला नेपाली टीमकै कप्तान भइसकेका लामिछानेले नेपालका अम्पायरको स्ट्यान्डर्डका विषयमा उठाएका प्रश्नहरू अस्वाभाविक नै भने होइनन्,’ एक अम्पायरले लोकान्तरसँग भने, ‘लामिछानेले त्यो कुरा सामाजिक सञ्जालमा लेख्नुहुने थिएन । उनले क्यानलाई इमेल लेखेर त्यस्ता कुरा भन्नुपर्थ्यो ।’
नेपालमा सम्पन्न भएको नेपाल प्रिमियर लिग होस् वा विभिन्न द्विदेशीय, त्रिदेशीय महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा अम्पायरहरूबाट थुप्रै गलत निर्णय भएको उनले पनि स्वीकारे ।
‘योग्यता, जानकारी, अनुभवको अभावमा पनि फिल्ड अम्पायरबाट कतिपय त्रुटिहरू भएका छन्,’ उनले थपे, ‘कतिपय अवस्थामा ह्युमन इरर पनि हुन्छन् । तर, पटक–पटक त्रुटि भएको हो भने क्यानले पनि त्यस विषयमा सोच्नुपर्ने हुन्छ । ’
भनसुनका आधारमा अम्पायर छनोट गर्नुको साटो योग्यताका आधारमा अम्पायर छनोट गर्नुपर्ने उनको कथन छ ।
‘अम्पायरहरूलाई पनि अपडेट राख्न क्यानले हाइ लेभलको प्रोग्राम ल्याउनुपर्छ । प्रत्येक म्याचको क्याप्टेन रिपोर्ट र रेफ्री रिपोर्टलाई आधार बनाएर मूल्यांकन गर्न क्यानले एउटा न्युट्रल कमिटी बनाउनु आवश्यक छ,’ उनले थपे, ‘म्याच रेफ्री, क्यानका पदाधिकारी, क्यान म्यानेजरसहितको मूल्यांकन कमिटी बनाए अम्पायर पनि सचेत हुनेछन् ।’