
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो सन्देशपछि राजावादीहरु उत्साहित देखिएका छन् । पूर्वराजाले ‘अब समय आएको’ र राष्ट्र जोगाउने हो भने साथ दिन देशवासीलाई आह्वान गरेका थिए ।
उनले भनेका थिए ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौँ ।’
पूर्वराजाको अभिव्यक्तिले आफूहरुलाई उत्साहित बनाएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने उनले जिकिर गरे । उनले राजसंस्थालाई साथ दिनेहरू सबै समय क्रमसँगै एक ठाउँमा आउने समेत जिकिर गरे ।
यसैगरी महामन्त्री धवलशमशेर राणाले पनि देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरे । अन्य राजावादी संघसंस्थाले पनि ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागत गरिरहँदा गणतन्त्र मान्ने दलहरुले भने पूर्णराजाको अभिव्यक्तिको कुनै औचित्य नरहेको बताएका छन् ।
००००
सहकारीको रकम अपचलन मुद्दामा ४ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिखेर काठमाडौंको बूढानीलकण्ठ (हात्तीगौंडा) स्थित निवासमै छन् ।
२ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । ४ जिल्लामध्ये रविले मंगलबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझे । उनले यसअघि पोखरामा पनि एउटा तारिख बुझिसकेका छन् ।
रविविरुद्ध पर्सामा समेत सानो पाइला सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहेको छ । उनले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिइसकेका छन् । तर, मुद्दा दायर भएको छैन ।
निवासमा सामान्य भेटघाट र आराम गरेर बसिरहेका रवि पर्साको मुद्दा छिटो अगाडि बढोस् भन्नेमा रहेको उनको सचिवालयले जनाएको छ । रविका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार रवि पार्टीका कुनै पनि गतिविधिमा प्रत्यक्ष संलग्न छैनन् । तर, पार्टीका नेताहरूसँग नियमित संवादमा छन् ।
००००
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार उडिसाका उच्च शिक्षामन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् ।
यसैबीच लम्सालको शव भैरहवा ल्याएर अन्त्येष्टि गरिएको छ ।
००००
सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् ।