१७ असार २०८३, बुधबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

फागुन ८, २०८१
काठमाडौं
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बिहीबारदेखि शुरू हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहीबार र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । बैठक शुक्रबार र शनिबारलाई सारिएको उनको भनाइ छ । 

कलेजोसम्बन्धी रोगले ग्रस्त सापकोटाको उपचारका क्रममा बिहीबार बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा मृत्यु भएको हो । 

नेकपा एसले शोक वक्तव्य जारी गर्दै सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।  

केन्द्रीय कमिटी बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, अध्यादेशका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्