२७ जेठ २०८३, बुधबार

हमासले चार बन्धकका शव फिर्ता गरेपछि शोकाकुल बन्यो इजरायल

फागुन ८, २०८१
काठमाडौं
हमासले चार बन्धकका शव फिर्ता गरेपछि शोकाकुल बन्यो इजरायल

हमासले गाजा क्षेत्रमा राखिएका चार इजरायली बन्धकका शव बिहीबार फिर्ता गरेको छ । अक्टोबर ७, २०२३ को हमलापछि पहिलोपटक हमासले मृत बन्धकहरू इजरायललाई बुझाएको हो । 

फिर्ता गरिएका शवहरूमा ३२ वर्षीया शिरी बिबास, उनका दुई छोरा चार वर्षीय एरियल र नौ महिनाका कफिर बिबास रहेका छन् । 

उनीहरूलाई हमास नेतृत्वको लडाकू समूहले १६ महिनाअघि दक्षिण इजरायलको ‘किबुट्ज निर ओज’बाट अपहरण गरेको थियो । 

यी बालबालिका अक्टोबर ७ को आतंकवादी आक्रमणका सबैभन्दा पीडितमध्ये थिए । उनीहरूको मृत शरीर फिर्ता गरिनु इजरायलका लागि भावनात्मक एवं शोकमय क्षण भएको छ ।

चौथो शव ८३ वर्षीय ओदेद लिफ्सिट्जको भएको बताइएको छ । उनलाई र उनकी पत्नी योचेभेद लिफ्सिट्जलाई पनि त्यही ठाउँबाट अपहरण गरिएको थियो । हमासले गत अक्टोबर २४, २०२३ मा योचेभेदलाई रिहा गरेको थियो ।

शव हस्तान्तरण हुनुअघि हमासका लडाकूहरूले गाजा शहर ‘खान युनुस’मा चारवटा कालो कात्रो मञ्चमा राखेका थिए । पछाडि प्रचारात्मक पोस्टरमा अरबी, हिब्रू र अंग्रेजी भाषामा विभिन्न नारा लेखिएका थिए ।

शवहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि इजरायली सेनाले लिएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् । यी शवहरू तेल अवीवस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा फरेन्सिक परीक्षणका लागि पठाइनेछ ।

शव हस्तान्तरणपछि इजरायली राष्ट्रपति इसाक हर्जोगले देशभरका मानिसहरूको मन टुक्रिएको बताएका छन् । उनले सरकारको तर्फबाट क्षमायाचनासमेत गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अक्टोबर ७ मा अपहरण गरिएका मानिसहरूलाई जोगाउन नसक्नु हाम्रो असफलता हो ।’

हमासले नोभेम्बर २०२३ मा बिबास परिवारकी आमा शिरी बिबास र उनका दुई छोरा इजरायली हवाई हमलामा मारिएको दाबी गरेको थियो । तर, यसबारे कुनै प्रमाण प्रस्तुत गरिएको थिएन । इजरायलले पनि उनीहरूको मृत्युको पुष्टि गरेको थिएन ।

शिरी बिबासका श्रीमान् यार्डेन बिबास यसै महिना हमासको बन्दी जीवनबाट मुक्त भएका थिए । उनलाई ४ सय ८४ दिनपछि रिहा गरिएको थियो । उनी जनवरी २०२५ को युद्धविराम सम्झौताअन्तर्गत जीवित मुक्त गरिएका १९ इजरायली बन्धकमध्ये एक हुन् ।

इजरायली सेनाले यसअघि पनि गाजाबाट अन्य बन्धकका शवहरू फिर्ता ल्याइसकेको छ । चार बन्धकका शव फिर्ता भएपछि इजरायलभित्र आक्रोश बढेको छ । नागरिकले सरकारलाई हमासविरुद्ध थप कडा कारबाही गर्न आग्रह गरिरहेका छन् । यता हमास भने आफ्ना माग अझ बलपूर्वक अघि बढाउने बाटोमा छ ।

salt training

कमेन्ट गर्नुहोस्