२६ जेठ २०८३, मंगलबार

नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड

फागुन ८, २०८१
काठमाडौं
नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । 

गोरखाको पालुङटार नगरपालिका-१० मा बिहीबारदेखि शुरू भएको चौंथो मिरकोट कोटगढी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश रहेको उल्लेख गरे ।

नेपाल प्राकृतिक रूपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, एकथरी मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’

आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशाको बाटोमा अघि बढाउन सफल भएको प्रचण्डको भनाइ छ ।

‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ’, प्रचण्डले भने, ‘नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’

देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि शुरू गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले वैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरूले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्