१७ असार २०८३, बुधबार

कैलाली प्रिमियर लिगः शुक्लाफाँटाको जित

फागुन ८, २०८१
कैलाली
कैलाली प्रिमियर लिगः शुक्लाफाँटाको जित

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ । 
   
पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले पहिलो जित निकालेको हो । पुनर्वास ए ले दिएको एक सय ५५ रनको विजयी लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै भेटायो ।
  
शुक्लाफाँटाका लागि सुरज तिरुवाको अलराउण्ड प्रदर्शन गरे । उनले बलिङतर्फ दुई विकेट तथा ब्याटिङतर्फ अविजित ५३ रन बनाए । शुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक विष्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा विष्टले १४ बलमा ३१ रन बनाए । त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित सात रन बनाए । 

पुनर्वास नगरपालिका ए का लागि पारस शाहीले दुई, निरज ऐर र सन्तोष दियालले समान एक/एक विकेट लिए । 
   
    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका एले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । पुनर्वासका लागि कप्तान अविनास सिंह र सन्दिप भण्डारीको जोडीले ६८ रनको साझेदारी खेले । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन, पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुनार १३ रनमा अविजित रहे । 

    उसका अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । शुक्लाफाँटाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुई÷दुई तथा सुरज तिरुवा र अशोक धामीले समान एक÷एक विकेट लिए । 
   
    कैलाली प्रिमियर लिगको पहिलो संस्करण कैलालीको टीकापुर नगरपालिकाको टिमले र दोस्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तस्रो संस्करणको प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । 
 
    समूह ए मा गोदावरी नगरपालिका, पुनर्वास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुनर्वास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र पर्शुराम नगरपालिकाको क्रिकेट टिम छन् । 

    प्रतियोगिताको विजेता टोलीले रु दुई लाख, उपविजेता टोलीले रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही रु १५ हजार, उदयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्