१६ असार २०८३, मंगलबार

अर्जेन्टिनाको विश्वकप टीममा किन छैनन् युवा स्टार गार्नाचो ?

असार १४, २०८३
काठमाडौं
अर्जेन्टिनाको विश्वकप टीममा किन छैनन् युवा स्टार गार्नाचो ?

साविक विजेता अर्जेन्टिना समूह चरणमा शत् प्रतिशत जीत निकाल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ ।

राउन्ड अफ ३२ मा उसको खेल केप भर्डेसँग हुनेछ ।  सबैलाई सरप्राइ दिँदै नकआउटमा स्थान बनाएको केप भर्डे पनि अपराजित छ ।

अर्जेन्टिना शानदार लयमा रहँदा एउटा विषय सामाजिक सञ्जालमा चर्चा छ– उदियमान युवा विंगर अलेजान्ड्रो गार्नाचो किन टोलीमा छैनन् ?

कतिपयले उनलाई क्रिस्टियानो रोनाल्डोको फ्यान भएकैले टीममा नराखिएको बताइरहेका छन् । 

म्यानचेस्टर युनाइटेड हुँदै अहिले चेल्सीका लागि खेल्दै आएका गार्नाचो रोनाल्डोका फ्यान हुन् । उनले रोनाल्डोकै जस्तो सेलिब्रेसन गर्छन् र सार्वजनिक रूपमै आफूलाई रोनाल्डोको फ्यान बताइसकेका छन् ।

के रोनाल्डोको फ्यान भएकैले गार्नाचो अर्जेन्टिनाको टीममा नदेखिएका हुन् त ?

वास्तविकता त्योभन्दा केही फरक छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनको बहिर्गमनको प्रमुख कारण अस्थिर क्लब प्रदर्शन, फिटनेस समस्या र प्रशिक्षक लियोनेल स्कालोनीको रणनीतिक निर्णय हो ।

प्रशिक्षक स्कालोनी र उनको प्राविधिक टोलीले गार्नाचोले राष्ट्रिय टोलीबाट अवसर पाउँदा दिइएका रणनीतिक निर्देशनअनुसार खेल प्रस्तुत गर्न नसकेको निष्कर्ष निकालेका थिए ।

साथै, पछिल्लो समय क्लबबाट उनको प्रदर्शन पनि अपेक्षाअनुसार प्रभावशाली नभएकाले टोलीमा स्थान बनाउन असफल भएका हुन् ।

प्रशिक्षक टोलीको मूल्याङ्कनअनुसार गार्नाचोले मैदानमा अवसर पाउँदा विपक्षीको रक्षापंक्तिमा आक्रामक रूपमा प्रवेश गर्ने र वान अन वान चुनौती सिर्जना गर्नेभन्दा सुरक्षित खेल रोज्ने गरेका थिए। यो टोलीको रणनीतिसँग मेल नखाने ठहर गरिएको थियो ।

क्लबमा नियमित रूपमा पहिलो रोजाइमा पर्न नसक्नु र प्रदर्शनमा निरन्तरता नहुनुले राष्ट्रिय टोलीको छनोटमा उनको सम्भावना कमजोर बनायो ।

घुँडासम्बन्धी असहजता तथा अन्य शारीरिक समस्याका कारण उनी विश्वकप छनोट अन्तर्गतका केही अन्तर्राष्ट्रिय खेलहरू पनि गुमाउन बाध्य भएका थिए, जसले टोलीमा उनको स्थान थप कमजोर बनायो ।

यद्यपि गार्नाचोलाई अर्जेन्टिनाको भविष्यका योजनामा अझै पनि महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएको बताइएको छ । कम्तीमा यो विश्वकपमा उनी देखिने छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्