२९ जेठ २०८३, शुक्रबार

कमल थापाको प्रश्न- विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?

फागुन ९, २०८१
काठमाडौं
कमल थापाको प्रश्न- विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा हतास मानसिकता देखिएको टिप्पणी गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको टिप्पणीमाथि थप टिप्पणी गर्दै दल र सरकारलाई कुनै आलोचना नगरेका राजा शाहप्रति खनिनु दुर्भाग्य भएको बताए ।

‘मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हतास मानसिकता फेरि एकपटक उदांगो भएको छ। राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढंगबाट चित्रण गर्नुभएको छ। राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ। राजाले प्रजातन्त्र, दल वा सरकारको विरोध पनि गर्नुभएको छैन,’ थापाले सामाजिक सञ्जालमार्फत् भट्टराईलाई भनेका छन्, ‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?’

जनताले चाहेमा गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको जनाउँदै थापाले थप प्रश्न गरेका छन्, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुरामजीलाई कसले दियो ?’ वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ, राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन।’

विगत १८ वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन। ‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनुहोस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस्,’ उनले अगाडि भनेका छन्, ‘विचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ। १८ वर्षअघि विदेशीको दवाव र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन्। जनतालाई ढाँटेको र धोका दिएको छर्लंग भैसकेको छ।’

अध्यक्ष थापाले युद्धकालमा राजासँग मिलेर जाने प्रस्ताव ल्याएको पनि स्मरण गराएका छन्। ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ,’ उनले भनेका छन्, 'देश र जनताप्रति ईमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ। परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र विचारबीचमा सामञ्जस्यता खोजौँ। सबै राजनीतिक शक्ति र विचार अटाउने मौलिक प्रजातन्त्रको विकास गरौँ। यसबारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ।'

salt training

कमेन्ट गर्नुहोस्