
नेपाली फूटबलको व्यावसायिकता, गुणस्तर र प्रभाव वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको देशकै उच्च कोटीको फूटबल लिग 'नेपाल सुपर लिग'को तेस्रो शृंखला हुँदै गर्दा यसले नेपाली फूटबल प्रेमीहरूमा जगाउने उत्साह अतुलनीय छ।
जति बेला नेपाली फूटबललाई यसका लाखौं दर्शकसँग जोड्ने एउटा भरोसायोग्य आधार चाहिएको हुन्छ, त्यति नै बेला नेपाल सुपर लिग उक्त आधार बनेर आएको छ।
सन् २०२१ को वर्ष कोभिडको लामो प्रभावले ग्रस्त थियो सारा संसार चिन्ताको भुमरीमा फसेको बेलामा अन्य क्षेत्रझैँ खेलकुद पनि चुनौतीहरूसँग जुधिरहेको थियो। खेलकुदका मुख्य गतिविधिहरू ठप्पप्राय थिए। नेपाली फूटबलले पनि यस प्रभावको सामना गर्यो । दुई वर्षको अवधिभर शीर्ष तहका खेलहरू पूरै रोकिए ।
यो विश्वव्यापी सङ्कट र राष्ट्रिय चिन्ताका बीचमा अक्टोबरको पहिलो हप्ताका लागि दक्षिण एसियाको ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना हुने तय भयो। घरेलु फूटबल शून्यप्राय भएको त्यस अवधिमा अनुभव र नयाँ जोशले भरिएको राष्ट्रिय टिमको निर्माण गर्नु चुनौतीपूर्ण थियो।
यद्यपि, मार्चमा सबै आवश्यक सुरक्षा प्रोटोकलहरूको पालना गर्दै नेपाल सुपर लिग (एनएसएल) सफलतापूर्वक सम्पन्न भयो र आशाका केही किरणहरू देखा परे।
एनएसएलले नेपाली फूटबललाई पुनर्उत्थान मात्र गरेन बरु राष्ट्रिय टोलीलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्यो। एनएसएल को पहिलो सिजनलाई नजिकबाट नियालिरहेका राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका आँखामा धेरै नयाँ खेलाडीहरू परे।
सोही प्रतियोगितामा चम्किएका आयुश घलान जस्ता नयाँ खेलाडीहरूले साफ च्याम्पियनसिपको लागि निर्माण भएको राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाए । तिनै खेलाडीहरूले उक्त प्रतियोगितामा नेपाललाई ऐतिहासिक रूपमा फाइनलमा पुर्याउँदै उपविजेता बन्ने मौका समेत दिलाए।

आज एनएसएल नेपालमा एउटा उच्च कोटीको फूटबल लिग बनेको छ जसले खेलाडीहरूलाई उत्कृष्ट पारिश्रमिक, तालिम र सुविधाका साथै आफ्नो खेल कौसल तिखार्नका लागि विदेशी खेलाडीहरूसँग अनुभव साझा गर्ने मौका पनि प्रदान गरेको छ ।
अनुभवी र कुशल खेलाडीहरूसँग खेल्दा नेपाली खेलाडीहरूले प्राप्त गरेको अनुभव र बढेको खेलस्तरले नेपालको राष्ट्रिय टोलीलाई पनि फाइदा भएको छ।
खेलप्रति लगाव र प्रेम हुँदा हुँदै पनि देशमा अवसर नदेखेर विदेश पलायन भएका कतिपय राष्ट्रिय खेलाडीहरू जुनसुकै विदेशको भूमिमा आफ्नो कर्म गरे पनि आज पनि एनएसएल प्रतियोगिता हुँदा नेपाल मै आएर खेल्ने र सिजन भर नेपालमै अन्तर्राष्ट्रिय स्तरका सुविधाहरू प्राप्त गर्ने अवसर बाट लालायित छन । यसले कही कतै बाट खेलाडी र देशलाई एक अर्कामा जोड्न मद्दत गरेकै छ ।
व्यावसायिकता र संस्थागत संरचनाबिना कुनै पनि क्षेत्र दीर्घकालिन हुँदैन । एनएसएल ले अखिल नेपाल फूटबल संघ (एन्फा)सँगको सहकार्यमा देशको प्रतिष्ठित उद्योगी, व्यवसायीहरू र खेलकुदलाई एक आपसमा जोड्ने पुलको रूपमा आफूलाई उभ्याएको छ।
यस प्रकारको व्यावसायिकताका कारण लिगले फूटबलसँग सम्बन्धित खेलाडी, अफिसियल, फ्यान र क्लबहरूलाई मात्र नभई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा धेरै सरोकारवालालाई आर्थिक, सामाजिक तथा खेलाडीहरूमा खेलको स्तरोन्नतिमा टेवा पुर्याएको छ । समग्रमा यसले देशको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फूटबल संघ एन्फाको प्राविधिक सहायतामा आयोजना हुने गरेको फूटबलको यस महोत्सवले बेग्लै रौनक ल्याएको छ। गोल! गोल! को कर्णप्रिय नारा र समर्थकले खचाखच भरिने प्यारापिटको उत्साहले दशरथ रङ्गशालालाई फेरि जुरुक्कै उचाल्न थालेको छ।
लिगको दुई वटा शृंखलाले पुनर्ताजगी गराएको फूटबलको जोशलाई आसन्न तेस्रो शृंखलाले अझै बढाउने अनुमान लगाउन सकिन्छ। नेपाल सुपर लिगले समर्थकहरू माझ भरेको यस उत्साह र आशाले नेपाली फूटबललाई थप उचाइमा लैजाने निश्चित छ।