११ साउन २०८३, सोमबार

सुनसरीको हिंसाको असर मोरङमा पर्न नदिन प्रशासन सतर्क, संयमता अपनाउन आग्रह

साउन ११, २०८३
विराटनगर
सुनसरीको हिंसाको असर मोरङमा पर्न नदिन प्रशासन सतर्क, संयमता अपनाउन आग्रह

सुनसरीको देवानगञ्जमा गएरातिदेखि चर्किएको हिंसात्मक घटनाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सतर्कता बढाएको छ । 

सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठक बसी मोरङ र विराटनगर क्षेत्रको सुरक्षा संवेदनशीलतामा ध्यान दिने निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार प्रशासनले हिन्दु र मुस्लिम दुवै पक्षका प्रतिनिधिलाई छुट्टाछुट्टै समयमा बोलाएर छलफल गरेको छ । 

छलफलका क्रममा दुवै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्‌भाव भङ्ग हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

‘हामीले दुवै पक्षलाई बोलाएर शान्ति सुरक्षा भङ्ग गर्न नपाइने र कसैले कानून हातमा लिएमा कडा कारबाही हुने स्पष्ट पारेका छौं,’ कोइरालाले भने ।  

उनका अनुसार कुनै पनि समस्या परेमा वा सूचना भएमा तुरुन्त प्रहरीलाई खबर गर्न र संयमित रहन आग्रह गरिएको छ ।

छलफलका क्रममा हिन्दु पक्षले सुनसरीमा आफ्ना मान्छे मारिएको भन्दै न्यायको माग गरेका थिए भने मुस्लिम पक्षले मोरङमा हिंसा नभड्कियोस् भन्ने चाहना व्यक्त गरेका थिए ।

यसैबीच, सुनसरीको घटनाको विरोधमा केही समूहले विराटनगरका बजार बन्द गराएका छन् । बजार बन्द गराउने प्रयासलाई रोक्न र सुरक्षा व्यवस्था चुस्त राख्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । 

हालसम्म कोही पनि नियन्त्रणमा नलिएको भए पनि प्रहरीले बजार क्षेत्रमा कडा निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

प्रशासनले सर्वसाधारणलाई अफबाहको पछि नलाग्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्