
यस साता (फागुन ४ देखि ८ गतेसम्म) शेयर बजार परिसूचक (नेप्से) ६५.२७ अंकले बढेको छ ।
झन्डै तीन महिनादेखि २५०० देखि २६०० को बिन्दुमा घुमिरहेको नेप्से यस साता २७०० बिन्दु माथि कायम हुन सफल भएको छ ।
गत साता (माघ २७ देखि फागुन १ गतेसम्म) नेप्से २१.३४ अंक(०.७९ प्रतिशत)ले घटेको थियो ।
२.४४ प्रतिशतले बढेको शेयर बजारमा यस साता ३८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । न्यूनतम् २६७५.९० को बिन्दुदेखि अधिकतम २७७५.९० को बिन्दुबीचको उतारचढावमा परिसूचक २७४३.७४ को बिन्दुमा बन्द भएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट केही सहजीकरण हुने आशाले बजारमा उत्साह जगाएको लगानीकर्ता राजन लम्साल बताउँछन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लाग्दा लगानीकर्ताहरू उत्साहित भएको उनको भनाइ छ ।
‘पहिलो राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिन लागेको छ । लगानीकर्ताहरू उहाँ जाँदा उत्साहित नै देखिन्छन्’, लम्सालले भने, ‘अर्को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन लागेको छ । त्यसबाट पनि लगानीकर्ताहरूका माग सम्बोधन हुने अपेक्षा छ । त्यसले गर्दा पनि लगानीकर्ताहरू उत्साहित छन् ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत अन्तिम साता सकिन लागेको छ । अहिले नेप्से ट्र्याङ्गल फर्मेसनमा चलिरहेको शेयर बजार विश्लेषक सन्तोष सिंह लिङ्देनले बताए ।
ट्र्याङ्गल फर्मेसन ‘ब्रेक आउट’ हुन सक्ने उच्च सम्भावना देखिएको उनले बताए । बजार पुनः २६२५ भन्दा तल झरेमा भने करेक्सन देखिने उनी बताउँछन् ।
‘ट्रेन्ड हेर्दा शेयर बजार २७७० देखि २८०० को बिन्दुमा गएर स्टेबल रहने देखिन्छ । समग्र साता सकारात्मक नै देखियो’, उनले भने, ‘ट्र्याङ्गल फर्मेसनमा छौँ । अब कताबाट ब्रेक आउट हुन्छ भन्ने मात्रै हो । करिब ब्रेक आउट हुनेजस्तै देखिन्छ ।’
यस्तो रह्यो साताको कारोबार
साताको पहिलो कारोबार दिनदेखि दोहोरो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन पनि दोहोरो अंकले बढेर बन्द भयो ।
साताको पहिलो कारोबार दिन आइतबार १९.५६ अंकले बढेको नेप्से २६९८.०३ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा ९ अर्ब ४७ करोड रुपैयाँ कारोबार भएको थियो ।
दोस्रो कारोबार दिन सोमबार २९.८७ अंकले बढेर परिसूचक २७२७.९१ को बिन्दुमा बन्द भएको थियो । यस दिन १० अर्ब बढीको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबारका दिन मंगलबार परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा बन्द भएको थियो । यस दिन बजारमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधवार सार्वजनिक बिदाका कारण शेयर बजारमा कारोबार बन्द रह्यो ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३.९२ अंकले बढेर २७४३.७४ को बिन्दुमा बन्द भयो । यस दिन ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँको कारोबार भयो ।