०४ असार २०८३, बिहीबार

ट्याक्सी भित्रै चालक मृत भेटिएको घटना : १५ वर्षपछि पक्राउ परे अभियुक्त, १ जना अझै फरार

फागुन ९, २०८१
काठमाडौं
ट्याक्सी भित्रै चालक मृत भेटिएको घटना : १५ वर्षपछि पक्राउ परे अभियुक्त, १ जना अझै फरार

काभ्रेको दोबारटारका मेघबहादुर तामाङलाई ट्याक्सी भित्रै हत्या गरेको आरोपमा फरार रहेका अभियुक्त मध्येका एक जनालाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

२०६६ मंसिर २६ ठमेलबाट चार जना यात्रु लिएर नरेफाँट हिँडेका मेखबहादुरको शव ट्याक्सी भित्रै २७ गते फेला परेको थियो ।

प्रहरीले अनुसन्धान गर्दा तत्कालीन समयमा ट्याक्सी चढेका चारै जनाले चालक मेघबहादुरको घाँटीमा गलबन्दीले पासो लगाएर हत्या गरेको रहस्य खुलेको थियो । घटनाको मुचुल्का उठाउँदा मेघबहादुरको पैसा र मोबाइलसमेत फेला परेको थिएन ।

लुट्ने उद्देश्यले नै मेखबहादुरको हत्या भएको आशंकामा अनुसन्धान अघि बढेको थियो । आरोपी मध्येका दुई जना श्याम लामा र विनोद लामा त्यति बेला नै पक्राउ परेका थिए । अहिले उनीहरू थुनामा छन् । 

जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते मेघबहादुरको हत्याका अभियुक्तबारे फैसला गर्दै चार जनाविरुद्ध जनही २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।

अभियुक्त मध्ये दुई जना भने फरार थिए । त्यसमध्ये काभ्रेका वीरमानसिंह भुलन तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तामाङलाई ललितपुर सुनाकोठीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका तामाङ घटनापछि मलेसिया गएको र त्यहाँ पाँच वर्ष रोजगारी गरेर नेपाल फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी नेपाल फर्किएपछि पनि लुकीछिपी बस्दै आएका थिए ।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार विशेष सूचनाका आधारमा तामाङलाई सुनाकोठीबाट नियन्त्रणमा लिइएको हो ।

फरार अर्का एक जनाको खोजी भइरहेको बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्