
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभागले सात करोडमा निर्माण गरेको भवन प्रयोगविहीन भएको छ ।
रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवन रामग्राम नगरपालिकाले भाडामा नदिएको स्थानीय गिरजाशङ्कर रौनियारले बताए । उनले भने, 'सटर भाडाको लागि नगरपालिकामा निवेदन दिएको थिएँ । नगरपालिकाले भाडामा दिएन । नगरपालिकाका प्रमुखसँग आग्रह गरे पनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिनापछि फिर्ता लिएँ ।'
चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजार भवनको भौतिकपूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको छ । भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोगविहीन भएको उनको भनाइ छ ।
वर्षातमा हाटबजार लगाउन आउने व्यपारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।
विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव ईन्जिनियर वीरेन्द्र मण्डलले बताए । उनका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोगविहीनमा छ ।
विभागले निर्माण गरेको कोठा भाडामा दिन रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरे पनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले बताए ।