१८ असार २०८३, बिहीबार

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फागुन १०, २०८१
ताप्लेजुङ
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । 

महतले भने, 'यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर, अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।'

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भए पनि पाथीभरा दर्शन गर्न जानुहुने तीर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् । 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । 

पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तीर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्