०३ साउन २०८३, आइतबार

नेपाल लिटरेचर फेस्टिभल : हुनेछ ६ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रमको पुस्तकको चर्चा

शब्दहरूको उत्सव, स्रष्टाहरूको महोत्सव​​
फागुन १०, २०८१
काठमाडौं
नेपाल लिटरेचर फेस्टिभल : हुनेछ ६ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रमको पुस्तकको चर्चा

एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यही फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुँदैछ ।​​

फेस्टिभलको बाह्रौं सँस्करणको मुख्य प्रस्तुतकर्ता रहेको एनसेलले आयोजक बुकवर्म फाउन्डेसन फेस्टिभललाई विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिएको छ । 

अघिल्ला सँस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्‌घाटन गर्नेछन् ।​

एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्वर्द्धन गरेको छ ।

पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उप–प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आईएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिनेछन् ।

यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एव विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । 

यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै फेस्टिभल शुरू हुनेछ । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएाओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत् प्रवचनलगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ । 

उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतिक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण पनि फेस्टिभलको आकर्षण रहनेछ । 

नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मका व्यक्तित्वहरूका प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो घोषित भएकी थिइन् ।

नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ। उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् ।

उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन्। 

फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ, जहाँ दैनिक हजारौं साहित्यानुरागीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

सिर्जनाको अर्को विधा चित्रकला सधैं फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस सँस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने छन् । उनका चित्रले फेस्टिभलमा विशेष रङ थप्ने हाम्रो विश्वास छ । 

सधैं जस्तै यसपटक पनि शब्दसँगै सङ्गीतको तालमा झुम्न सकिनेछ । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई सङ्गीतमय बनाउनेछ । साङ्गीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली सङ्गीत जगत्का पप–सम्राट्का रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् । 

परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौं विश्वविद्यालयको सङ्गीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा शुरू भएको यस ब्यान्डको सङ्गीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एव नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुनेछ। उमेरले ८९ टेकेका सिंहको यो उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । 

साहित्य, शिक्षा अनि पठन संस्कृतिका लागि उमेरहद हुँदैन । त्यसैले त नेपाल लिटरेचर फेस्टिभल बालबालिका तथा किशोर–किशोरीका विचार, रचना, कला र भावना अभिव्यक्तिको सशक्त माध्यम बन्दै आएको छ ।

यस सँस्करणमा उमेरले भर्खरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक हुनेछ ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । ‘यस्ता महोत्सवले अहिले व्यापकता पाएका छन् । स्कुलदेखि कलेज र वडादेखि गाउँपालिकामा समेत यस्ता साहित्यिक महोत्सव हुन थालेका छन्,’ उनले भने, ‘यही फागुनमा मात्र नेपालमा सात ओटा साहित्यिक महोत्सव हुँदै छन् । सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकरभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ ।’

यस्ता फेस्टिभलले हाम्रो ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ । ‘पब्लिक स्पेस’ फराकिलो तथा जीवन्त बन्दै गएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ,’ उनले भने । ​

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइसेक्टर विशाखालक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरूमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’

पोखराका पत्रकार एव कार्यक्रम सञ्चालक केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्त्वबारे चर्चा गरे ।

साहित्यले समाजमा पुर्‍याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’​​

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको शहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले शहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्