
भजनको महत्त्व र मौलिकता जोगाउने उद्देश्यले पाल्पामा रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कीर्तन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए।
'गाउँघरमा परम्परागत रूपमा चलिआएका लोक भजनलाई लोप हुन नदिन, यसको महत्त्व र मौलिकतालाई जीवन्त जोगाइराख्न प्रतिस्पर्धात्मक रूपमा कार्यक्रम गर्न लागिएको छ,' उनले भने, 'यसले धर्म, संस्कृतिको संरक्षण हुनुका साथै नयाँ पुस्तालाई पनि भजन संस्कृतिबारे अवगत गराउने उद्देश्य लिइएको छ ।'
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र उपसभामुख मेनुका खाँण केसीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
एक समूहमा बढीमा नौ जना हुनुपर्ने र जुनसुकै ठाउँमा बसोबास गरेको भए हुने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुनका लागि उमेरको हद तोकिएको छैन ।
हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ ।
कालीगण्डकी वेशीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिको प्रवर्द्धन, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन, संस्कृतिलाई अवलम्वन गराउन प्रतियोगिता सहयोगी हुने अपेक्षा गरिएको छ ।
देवी देवताका विभिन्न मठ मन्दिर, देवालयमा दैनिक भजनकीर्तन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थलमा पनि दैनिक भगवान्कै नाम जप्दै भजनकीर्तन गरिन्छ ।
भगवान्कै नाम जप्दै भजनको तालमा नाच्ने र गाउँदा महत्त्वकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भजनकीर्तन गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो गाउने चलन परम्परादेखि चलिआएको हो । भगवान्का नाममा गाइने भजनकीर्तनले मानिसलाई सद्गुणी र विवेकशील बनाउँदै आध्यात्मिकतर्फ डोर्याउने मान्यता छ ।
मानिस धार्मिक कार्यमा तल्लीन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बूढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न वृद्धाश्रम, मठ मन्दिर, देवालयहरूमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पार्ने पनि गर्छन् ।