
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी बन्ने कार्यक्रम बिथोल्न सामाजिक सञ्जालमा अपिल गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली जोरपाटी पुगेका बेला उनीहरूले विरोध तथा नाराबाजी गर्ने तयारी गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह छन् ।
उनीहरूले सामाजिक सञ्जालमै विरोध जनाउने भन्दै सामग्री राखेका थिए ।
‘प्रधानमन्त्रीज्यू जाने कार्यक्रममा विरोध जनाउने पूर्वसूचना जारी गरेकाले उनीहरूलाई हामीले निगरानीमा राखेका थियौं, कार्यक्रम स्थलमा पुग्नुअघि नै उनीहरूलाई नियन्त्रणमा लिएका हौं,’ बोहराले लोकान्तरसँग भने,‘ हामी थप अनुसन्धान गर्दैछौं ।’
प्रधानमन्त्री ओलीले अस्पतालमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।