
पश्चिम नवलपरासीमा प्रेम सम्बन्धको विषयलाई लिएर शुरू भएको विवाद झडपमा परिणत हुँदा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।
केही दिन अगाडि एक प्रेमी जोडीले भागी विवाह गरे । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात अभिभावकको जिम्मा लगायो । तर केही दिनपछि उनीहरू फेरि भागे । त्यसपछि शुरू भयो दुई परिवारका बीचमा मनमुटाव ।
उनीहरू भागेपछि सोमबार केटी पक्षले केटाका दाइलाई कुटपिट गरे । सोही विषयमा आज झडप भएको हो । आक्रोशित स्थानीयले प्रहरीको गाडीसमेत जलाएका छन् । आगजनीबाट एक कवाड गोदाम ध्वस्त भएको छ ।
आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोटकी कुश्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान)को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवाड गोदाममा आगजनी गरेका हुन् ।
धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो । केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन् ।
सोमबार साँझ केटाका दाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररूप लिएको स्थानीयले बताएका छन् । मंगलबार कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप शुरू भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न शुरू गरेका थिए ।
दुई समूहबीच झडप भइरहँदा मोहरमका छोरा सोवरातीले केटा पक्षको समूहमाथि अन्धाधुन्ध गाडी दौडाउँदा दुई जना घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपश्चात आक्रोशित केटा पक्षको समूहले कवाड गोदाममा आगजनी गरेको हो ।

गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ । केटा पक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको पनि अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
दुई जनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरी ध्वस्त बनाएका छन् । स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गरिएको सूचना अधिकारी थापाले बताए ।
झडपका क्रममा ३ जना सर्वसाधारण, नेपाल प्रहरीका इन्स्पेक्टरसहित ११ जना र चार जना सशस्त्र प्रहरी रहेका छन् ।
टाउको र छातीमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेका र पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनास्थलको अवस्था सामान्य बनिसकेको छ ।
आगजनी र झडपपछि बोलाइएका दमकल र एम्बुलेन्ससमेत फर्किएर जाँदा थप क्षति व्यहोर्नु परेको भन्दै घटनास्थलमा खटिएका प्रहरीहरूले चालकहरूमाथि आक्रोश पोखेका थिए ।
‘समयमा दमकल आएको भए हाम्रो गाडी ध्वस्त हुने थिएन, गोदाममा पनि यति धेरै क्षति हुने थिएन,’ घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षकले भने ।
घटनास्थलबाट रामग्राम नगरपालिका करिब ६ किलोमिटरको दूरीमा छ ।
घटनास्थलमा पुगेको रामग्रामको दमकल फर्केको प्रहरीको दाबी छ ।
झडपको स्थिति सामान्य बनेपछि करिब २२ किलोमिटरको दूरीमा रहेको बर्दघाट नगरपालिका र रामग्रामको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।