
गत सोमबारदेखि नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को शुरूआत गर्यो । नेपालको सबैभन्दा होचो भूमि झापाको केचनाकवलबाट शुरू गरेको अभियानले झापा र मोरङका दुई जिल्लाका कार्यक्रम सम्पन्न गरेको छ ।
होचो भूभागबाट शुरू गरेको अभियानले उचाइ लिएको माओवादी नेताहरूको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा र मोरङमा अभियान सकिँदा उत्साहित देखिएका छन् । अभियानमा उनले आफू नेतृत्वको सरकार ढालिनुको कारण, एमाले कांग्रेससँग मिल्दा जनतासँग मन टुटेको भन्दै आफ्नो पक्षमा माहोल बटुल्न कोसिस गरिरहेका छन् ।
उनी विगतमा गल्ती गरेको भन्दै जनतासँग क्षमा याचना गर्दै हिँडिरहेका छन् । कार्यकर्ताकै घरमा बास बस्ने, बिहान ६–७ किलो मिटर मर्निङवाक गर्नेजस्ता काम गरेर उनी ‘जनताको मन जित्ने कोसिस’ गरिरहेका छन् । सकेसम्म सहिद परिवारका घरमा खाना खाने गरेका छन् ।
पहिलो दिन झापामा केराको पातमा खाना खाएका थिए । मोरङको रतुवामाइमा भने झर्काको थालमा भात खाएका थिए । एकैदिन तीन ठाउँका खबरदारीसभालाई सम्बोधन गरेका प्रचण्डले माओवादी २०६४ सालमा फर्किएको झल्को आएको बताइरहेका छन् । उनी अभियानबाट हौसिइरहेका छन् ।

बुधबार काठमाडौं फर्कनुअघि विराटनगरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले झापा र मोरङको अनुभव निक्कै नै उत्साहवर्द्धक रहेको बताए । ‘जनतामा एउटा सकारात्मक भाव पैदा भएको देखिएको छ’, उनले भने ‘मैले झापा र मोरङमा झल्कोचाहिँ ०६४ को पाएको छु ।’ यी जिल्ला घुम्दा ०८४ मा माओवादी पहिलो पार्टी बन्ने संकेत मिलेको उनको दाबी छ ।
०८४ को चुनावमा कांग्रेस र एमालेसँग सहकार्य नगर्ने पनि प्रचण्डले उद्घोष गरिसकेका छन् । ‘यो कुरा मैले लाखौं जनतासँग भनिसकें । अब त्यहाँबाट म ब्याक हुनसक्ने अवस्था छैन’, प्रचण्डले भने ।
किन हौसिए प्रचण्ड ?
सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरूसँग भेटघाट गर्दै अभियानमा जुटेको माओवादी हौसिनुको कारण भने सभामा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहनु हो । दुई दिनमा पार्टी प्रवेशको लहर पनि निकै रहेको नेताहरूको दाबी छ ।
माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले दुई जिल्लाबाट २ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता माओवादीमा समाहित भएको बताउँछन् । ‘एमाले, कांग्रेस, जसपा, लिम्बुवान लगायतका दलका २ हजारभन्दा बढी कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गर्नु भएको छ’, मिक्सोले भने ।
प्रचण्डले भेटघाट तथा जनसभाहरूमा पार्टी कमजोर हुनुको कारणका बारेमा पनि कार्यकर्ताहरूलाई बताउने गरेका छन् । उनले पहिलो संविधानसभा निर्वाचनमा प्राप्त गरेको समर्थनबाट आफूहरू सम्हालिन नसकेकै कारण र पार्टीभित्रको विवाद समाधान गरी एकताबद्ध राख्न नसकेकै कारण कमजोर अवस्थामा पुगेको बताउने गरेका छन् ।

उनले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा माओवादीलाई घाटा भएको पनि दाबी गर्ने गरेका छन् । अब त्यस्तो गल्ती नगर्ने वाचा गर्दै हिँडिरहेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयल गाढा चढेर अमेरिका पुगिँदैन’ भनेर जनताको आन्दोलनलाई होच्याउनेहरूले जनताका अधिकार र एजेन्डाहरू खोस्न लागिरहेको आरोप पनि लगाएका छन् । अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन : एक जिल्ला, एक जिल्ला : तीन मुख्य कार्यक्रम गर्ने योजना बनाएको छ ।
तर, छिपेको छैन विवाद
प्रचण्डले पार्टीलाई एकताद्ध र बलियो बनाउँदै लैजाने भाषणा गरिरहे पनि माओवादीभित्रको विवाद भने यो अभियानका क्रममा पनि प्रकट भएको छ । झापामा पार्टीभित्रको अन्तरविरोधका कारण समस्या देखिएको स्थानीय कायकर्ताहरूले बताएका छन् । झापामा दुई केन्द्रीय सदस्यको लफडाका कारण पार्टीले प्रगति गर्न नसकेको कचनकवल गाउँपालिकाका देवलाल राजवंशीले बताए । केन्द्रीय सदस्य धर्मशिला चापागाईं र अर्का केन्द्रीय सदस्य झलकसिंह दर्लामीको आन्तरिक कलहले गति लिन नसकेको उनले बताए ।
‘प्रचण्ड आउँदा यहाँ माहोल बन्छ’, राजवंशीले भने ‘तर, यहाँको व्यवस्थापन गर्ने नेताहरूबीच नै राम्रो सबन्ध छैन ।’
झापाका विष्णुलाल घिमिरेले दुई उपमहासचिव मिले माओवादीको अवस्था सुधारोन्मुख हुने बताए । ‘युवा पुस्ताले अब प्रचण्डलाई भन्दा पनि जनार्दन शर्मा र वर्षमान पुनलाई हेर्छ । तर, उहाँहरूको पहिलो दिनको भाषणमा ठाकठुक परेको देखिहालियो । यसलाई मिलाएर लैजानुपर्छ’, उनले भने ।
कचनकवलको बनियानीमा भएको सभामा उपमहासचिव शर्माले नेतृत्व सुध्रिनुपर्ने आवाज बुलन्द गरेका थिए । जनताका समस्या र आवाज सम्बोधन गर्न सक्ने पार्टी बनाउन नेतृत्व र नेतृत्वको टिम सच्चिनुपर्ने शर्माले बताएका थिए । अर्का उपमहासचिव वर्षमान पुनभन्दा पहिला बोलेका शर्माले नेतृत्वप्रति प्रहार गरे पनि पुनले भने प्रचण्डलाई गणतन्त्रका नायक भन्दै सम्बोधन गरेका थिए । ‘यत्रो परिवर्तन कसरी भयो’ भन्दै पुनले शर्मालाई काउन्टर दिएका थिए ।

तथापि, अध्यक्ष प्रचण्डले भने पार्टीभित्र कुनै समस्या नरहेको दाबी गरिरहेका छन् । माओवादीप्रति बढेको जनलहर एकाथरी मानिसहरूलाई मन नपरेको प्रचण्डको टिप्पणी छ ।
‘जाली फटाहालाई मन परेको छैन नि ! फेरि माओवादी बढ्ने हो कि के हो भन्ने चिन्ता भएकाहरूले बढाइचढाइ गर्ने गरेका छन् । तर, केन्द्रीय समितिले एक मतका साथ डकुमेन्ट पास गरेका छौं । सबै नेताहरू सँगै हिँडेका छौं’ प्रचण्डले भने ।
तर, झापाकै टिकाराम चम्लगाईं पनि जनार्दनको भनाइप्रति सहमति जनाउँछन् । उनले नेतृत्व सच्चिएर आए माओवादीलाई विश्वास गर्न समस्या नभएको बताए । मोरङमा भने क्षेत्रगत रूपमा गुटबन्दी भए पनि त्यसले असर नगरेको नेताहरू दाबी गर्छन् ।