३० जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

दुई जिल्ला घुमेपछि प्रचण्ड उत्साहित, कुलमानका कारण आयोजना अलपत्र

फागुन १५, २०८१
काठमाडौं
दुई जिल्ला घुमेपछि प्रचण्ड उत्साहित, कुलमानका कारण आयोजना अलपत्र

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गत सोमबारदेखि नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी स् तराई(मधेश जागरण अभियान’को शुरूआत गर्‍यो । नेपालको सबैभन्दा होचो भूमि झापाको केचनाकवलबाट शुरू गरेको अभियानले झापा र मोरङका दुई जिल्लाका कार्यक्रम सम्पन्न गरेको छ । 

होचो भूभागबाट शुरू गरेको अभियानले उचाइ लिएको माओवादी नेताहरूको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा र मोरङमा अभियान सकिँदा उत्साहित देखिएका छन् । अभियानमा उनले आफू  नेतृत्वको सरकार ढालिनुको कारण, एमाले कांग्रेससँग मिल्दा जनतासँग मन टुटेको भन्दै आफ्नो पक्षमा माहोल बटुल्न कोसिस गरिरहेका छन् ।
००००
एमालेका महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । 

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीद्वारा बिहीबार राजधानीमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
००००
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन)का तीन पूर्वअध्यक्षहरूले यही फागुन  १५ र १६ गते हुने मधेस प्रदेशको वीरगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय महाधिवेशन वैधानिक हुने जिकिर गर्दै त्यसमा सहभागी हुन आह्वान जारी गरेका छन् ।
००००
पछिल्लो समय माओवादी केन्द्रमा सक्रिय भएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् । 

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’
००००
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसद्मा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
००००
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टोली नेपाल म्यानमारसँग पराजित भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। 
००००
महाशिवरात्रीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।
महाशिवरात्रीका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन कालदेखिको परम्परा छ । बुधबार देशभर शिवरात्रि पर्व मनाइएको छ । 
००००
पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ ।

पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
००००
करिब २० वर्षदेखि चर्चामा रहेको बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना विद्युत प्राधिकरणकै कारण अलपत्र पर्ने अवस्थामा पुगेको छ । 

बाग्लुङ र रुकुमपूर्वको सीमा क्षेत्रमा बनाउने भनिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) पास भइसके पनि त्यसलाई कार्यान्वयन गर्नुको साटो प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः करोडौं खर्चेर अर्को अध्ययन गर्न लगाएका छन् ।
००००
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आउँदो आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो । 

बैठकमा सरकारले जारी गरेको अध्यादेशलगायत पार्टी काम कारबाही र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
००००
नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस तथा  शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्