
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी तराईं-मधेश जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।
अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।
राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेको उनको भनाइ थियो । यसविरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको उनले बताए । जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
अभियान टोली आज दिनभरि सुनसरीमा रहेछ। आज बर्जु ताल अवलोकन, उखु किसानसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा, कोशी,भोक्राह र मधुवनमा जनभेटघाटलगायत कार्यक्रम रहेको माओवादी केन्द्र सुनसरीले जनाएको छ ।