
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।
माओवादीको तराईं-मधेश जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन संभव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेको उनले बताए ।
माओवादी रहँदासम्म मुस्लिमलगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनको दाबी छ । माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
अन्य दलहरूलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकारविरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए ।
हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रती गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए।