
लहान, ७ मंसिर - शहरी विकासमन्त्री दीलानाथ गिरीले शान्त र समृद्ध मुलुक निर्माणका लागि राप्रपालाई जिताउनुपर्ने बताउनुभएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजको निरीक्षण गर्न आइपुग्नुभएका मन्त्री गिरीले आज सञ्चारकर्मीसँगको कुराकानीमा राप्रपाले जितेमात्र मुलुक समृद्ध बन्न सक्ने बताउनुभयो ।
मन्त्री गिरीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन केबल जनतालाई भुलाउनका लागि मात्र भएको बताउँदै गठबन्धनले मात्र देशमा विकास र समृद्धि दिन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
हिन्दूत्वको रक्षाका लागि आफ्नो पार्टी मात्र इमान्दार रहेको उल्लेख गर्दै उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ठूलो संख्यामा रहेको हिन्दूहरुको अत्यधिक मत आफ्नो दलले पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
यसअघि मन्त्री गिरीले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजको निरीक्षण गर्नुभएको थियो । सो क्रममा कार्यालयका कर्मचारीहरुलाई उच्च मनोबलका साथ इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभयो ।