१५ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

ग्यास उद्योगीको कमिसन वृद्धिदेखि एकै व्यक्तिले क्रिप्टोमा झण्डै २ अर्ब कारोबारसम्म

फागुन २१, २०८१
काठमाडौं
ग्यास उद्योगीको कमिसन वृद्धिदेखि एकै व्यक्तिले क्रिप्टोमा झण्डै २ अर्ब कारोबारसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संघीय संसद्अन्तर्गत बुधबार प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा भूमिसम्बन्धीबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने कार्यसूची छ ।

 सरकारले अध्यादेश जारी गरेको एक महिनापछि यो विषय फेरि संसद्को कार्यसूचीमा चढेको हो ।
००००
एक व्यक्ति झन्डै २ अर्ब रुपैयाँ बराबरको अवैध  क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइएको छ । 

प्रहरीका अनुसार राजधानीको तिलिङ्गेटारबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोशन गुरुङलाई पक्राउ गरेको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न  गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार १ सय बैसठ्ठी रुपयाँ बराबरको अवैध कारोबार गरेको देखिएको परिसरको भनाइ छ । 

उनलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच क्रिप्टो कारोबारी लुटिएको समेत खुलेको छ । एसएसपी विश्वराज अधिकारीले गुरुङलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए ।
००००
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ निरन्तर भएका छन् । मंगलबार सम्पन्न महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
००००
जनता समाजवादी पार्टी, नेपालले सरकारले अगाडि बढाएका पाँचवटा अध्यादेशको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा भोट हाल्ने निर्णय गरेको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले यसअघि माघ २८ गते संसदीय दलको बैठक अनुसार नै अध्यादेशको विषयमा निर्णय भएको जानकारी दिए । केन्द्रीय समिति बैठकले भूमिसम्बन्धी बाहेकका अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको सुमनले जानकारी दिए ।
००००
खाना पकाउने एलपी ग्यासमा उद्योगीलाई प्रतिसिलिन्डर १२.७५ रूपैयाँ कमिसन बढाउनेगरी सरकारले सहमति गरेको छ ।
मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको पाँचबुँदे सहमतिमा मूल्यवृद्धिको विषय उल्लेख छ । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । 
००००
ललिता निवास क्याम्पभित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
००००
शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा मंगलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए।
००००
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् ।
००००
ललितपुरको टीकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रणमा आएको छ ।

मंगलबार बिहान करिब साढे ८ बजेबाट शुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि उक्त ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।
००००
सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको जानकारी दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्