
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ भइरहेको छ ।
गत माघ २९ गते शुरू भइ हेर्दाहेर्दैमा राखिएको रिटमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको हो ।
२०७७ सालमा संसदीय सुनुवाइबिना गरिएको नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट दायर गरेका थिए ।
चार वर्षसम्म अड्किएका ती रिटमाथि सर्वोच्चले सुनुवाइ अघि बढाएको हो । पहिलो दिनको सुनुवाइमा रिट निवेदकमध्येका ओमप्रकाश अर्याल र डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।
प्रतिनिधिसभा विघटनपछि २०७७ माघमा ती नियुक्ति भएका थिए । नियुक्तिविरुद्ध प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायतलाई विपक्षी बनाइ विभिन्न १५ वटा रिट परेका थिए ।