
अमेरिकाले युक्रेनलाई दिँदै आएको गुप्तचर सहायता रोकेपछि त्यसको प्रत्यक्ष प्रभाव युक्रेनी सेनाको सैन्य रणनीति र हवाई सुरक्षामा पर्न थालेको छ ।
अमेरिकी गुप्तचर सूचनाले युक्रेनलाई रुसी सेनाको गतिविधि पहिचान गर्न, आक्रमणको योजना बनाउन र मिसाइल तथा ड्रोन हमलाबाट जोगिन मद्दत गर्दै आएको थियो । तर, यो सहयोग रोकिँदा युक्रेनको रक्षा प्रणाली धराशायी बन्ने भएको छ ।
अमेरिकाले उपग्रहमार्फत् उपलब्ध गराउने जानकारी र सञ्चार जासूसी (सिग्नल इन्टर्सेप्ट) प्रविधिबाट युक्रेनी सेनाले रुसी सेनाको स्थान, गतिविधि र सम्भावित रणनीति पहिल्याउने गरेको थियो ।
यही सूचनाका आधारमा अमेरिकी HIMARS क्षेप्यास्त्र प्रणाली र बेलायत-फ्रान्सको Stormshadow मिसाइल जस्ता लामो दूरीका हतियारको प्रभावकारी प्रयोग भइरहेको थियो ।
सैन्य रणनीति मात्र होइन, अमेरिकी गुप्तचर सूचनाले युक्रेनका प्रमुख शहर, ऊर्जा केन्द्र र राष्ट्रिय पूर्वाधारको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
अमेरिकी उपग्रहले रुसभित्रैबाट प्रक्षेपण हुने मिसाइल र ड्रोनहरूको गतिविधि पहिल्याउने गरेका कारण युक्रेनले समयमै सतर्कता अपनाउँदै आएको थियो ।
हवाई आक्रमणको खतरा देखिनेबित्तिकै साइरन र मोबाइल सन्देशमार्फत् नागरिकहरूलाई सतर्क गराउने प्रणाली अमेरिकी सूचनामै भर परिरहेको थियो ।
गुप्तचर सहायता रोकिँदा युक्रेनलाई सबैभन्दा ठूलो समस्या हवाई सुरक्षा प्रणालीमा पर्ने देखिएको छ । केही महिनाअघि मात्रै युक्रेनले अमेरिकी Patriot क्षेप्यास्त्र प्रणाली थपेर आफ्नो सुरक्षा बलियो बनाउने योजना बनाएको थियो ।
तर, अहिले Patriot मिसाइलको आपूर्ति रोकिँदा युक्रेनी शहर र ऊर्जा केन्द्रहरू थप जोखिममा परेका छन् ।
युरोपेली देशहरूले मध्यम तथा छोटो दूरीका हवाई सुरक्षा प्रणाली उपलब्ध गराउने वाचा गरेका छन्, तर तिनले रुसको हाइपरसोनिक ब्यालिस्टिक मिसाइल रोक्न नसक्ने विज्ञहरू बताउँछन् ।
सैन्य सहायता र गुप्तचर सहयोग रोकिनुलाई अमेरिकाले युक्रेनलाई दिएको कूटनीतिक दबाबका रूपमा हेरिएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका छन्, ‘यदि युक्रेन अमेरिकी नेतृत्वमा भइरहेको कूटनीतिक वार्तामा सहभागी हुन्छ भने सहायता पुनः उपलब्ध हुन सक्छ ।’
यहीबेला सीआईए निर्देशक जोन र्याट्क्लिफले पनि गुप्तचर सहायता स्थायी रूपमा रोक्ने योजनामा अमेरिका नरहेको संकेत दिएका छन् ।
तर, विश्लेषकहरूका अनुसार अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो पक्षमा ल्याउन सहायता रोकेर दबाब दिने रणनीति अपनाइरहेको छ ।