
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरंकुश भन्ने कुरा मिथ्या आरोप रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का सम्बन्धमा अस्वीकार गरियोस्’ भन्नेमा सांसद गोपीबहादुर सार्की अछामी, सांसद जगतबहादुर पार्की, सांसद राधेश्याम पासवान र सांसद उदयबहादुर बोहोराले प्रस्ताव पेस गरेका थिए ।
सोही प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताएका हुन् । सरकारले ल्याएका अध्यादेश सबैको आवश्यकताका रूपमा रहेका उनको भनाइ छ ।
‘राज्य सबैको हो । मुलुकको समस्याका रूपमा रहेका ढिलासुस्ती, कुशासन, अनियमियतता हटाएर सुशासन कायम गर्न र विश्वासको माध्यमबाट समृद्धिको लक्ष्य निर्माण गर्न यो अध्यादेश ल्याइएका हो’, मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले यो सरकार लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने बताए । संघीय लोकतन्त्रका मुलभूत सिद्धान्तको रक्षा गर्नेमा सरकार प्रतिबद्ध उनको भनाइ छ ।
‘संसद्लाई गरिमामय र मर्यादित बनाउनुपर्नेमा प्रतिबद्ध छौं । विधिगत रूपमा अस्वीकार गर्नुपर्नेमा तर्कअनुसार कुनै औचित्य देखिएन । निरंकुशता बढ्यो भन्नु मिथ्या आरोप हो’, मन्त्री गुरुङले भने ।