१८ असार २०८३, बिहीबार

पनौतीमा सञ्चालित तीन क्रसर उद्योग बन्द

फागुन २३, २०८१
काभ्रेपलाञ्चोक
पनौतीमा सञ्चालित तीन क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । नगरको वडा नं २ र १२ मा नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।

वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । 

नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय नभएसम्म ती उद्योग गराइएको हो । 

नगरप्रमुख भण्डारी, नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी तीन उद्योग बन्द गराएका हुन् । 

गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठूलो धनजनको क्षति भएको जनगुनासो आएकाले नियमविपरीत सञ्चालित उद्योग बन्द गराउने निर्णय गरेको थियो। पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये विपद्पछि आठ खानी र पाँच क्रसर उद्योग खुलेका छन्। त्यसमध्ये तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।

समितिले गत माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी र क्रसर बन्द गर्न पत्राचार गरिए पनि कार्यान्वयन नभएपछि ९ गते नियमविपरीतका उद्योग बन्द गराउने निर्णय गरेको हो । सोहीअनुसार पनौतीले अनुगमन गरेर आज तीन उद्योग बन्द गराएको जनाइएको छ । 

यसैबीच समितिको निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट (धुलो) र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको थियो ।

विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक खानी तथा क्रसर सञ्चालनमा थिए । 

salt training

कमेन्ट गर्नुहोस्