
स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पिपराले शुरूमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ जितपुरस्थित चार नम्बर चोकमा रहेको केसी फेन्सी पसलको गोदामबाट नौ लाख भारु (१४ लाख ४० हजार नेपाली)सहित गोविन्द विकलाई पक्राउ गरेको थियो ।
लगत्तै मायादेवी गाउँपालिका–८ का सोमनाथ कसिधनलाई १४ लाख ५० हजारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी निरञ्जन भट्टले जानकारी दिए ।
कसिधनसँग बसिरहेका रुपन्देहीका बसन्त खरेल र कपिलवस्तुका शेष नारायण गिरीलाई पनि पक्राउ गरिएको भट्टले बताए ।
उनका अनुसार पक्राउ परेकाले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।