
चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन् । उनले भने, “घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन ।”
निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ । बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उनले बताए ।