
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको भनिएको प्यानल नै विजयी भएको छ ।
नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको अन्तिम परिणाम शुक्रबार साँझ आएको हो । जसमा भण्डारीको साथ रहेको भनिएका अम्बर राईको समूहले पदाधिकारीमा ‘क्लीन स्वीप’ गरेको छ ।
राईले ४४६ मत ल्याएर जीत निकाल्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षका (अध्यक्ष केपी शर्मा ओली पक्षका) राजकुमार ओझाले ४०७ मत ल्याए । यो नतिजाले ओलीलाई झट्का दिएको छ ।
००००
राष्ट्रियसभा सदस्य एवं पूर्वगृहमन्त्री वामदेव गौतमले सरकारले आफ्नो कुरा नसुनेर अपमान गरेको बताएका छन् । राष्ट्रियसभामा आफूले राखेका कुरा सरकारले नसुनेको उनको गुनासो थियो ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा गौतमले सदनमा आएदेखि आफूले सरकारलाई राम्रा सुझाव दिए पनि सरकारले सुन्न नचाहेको उनले गुनासो गरे ।
००००
जसपा नेपालका पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
००००
सरकारले दुई जना सचिवको सरुवा गरेको छ । यही फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव सुमनराज अर्याल र लोकनाथ पौड्यालको सरुवा गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिममन्त्री पृथ्वी सुब्बा गुरुङले अर्याललाई राष्ट्रिय योजना आयोग र पौड्यालाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको बताए ।
००००
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत् प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्नुपर्ने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले शुक्रबार भैरहवामा आयोजना गरेको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रयोग गरेको बिजुलीको बिल सम्बन्धित उद्योगीलेले तिर्नुपर्ने बताएका हुन् ।
००००
जिल्ला अदालत काठमाडौंले निलम्बित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेको २० प्रतिशत कैद सजाय मिनाहा गर्न आदेश दिएको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेको मागबमोजिम आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । यो आदेशले मनाङेलाई राहत दिएको छ ।
००००
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमाले मिलेर बनेको सरकारको भविष्यलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् । मुख्य प्रतिस्पर्धी पार्टीहरू असाधारण अवस्थामा मिलेको र ०८४ सम्म सहकार्य गरिराख्ने उनले बताए ।
कर्णाली प्रदेशसभा बैठकलाई शुक्रबार सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रणाली र देश जोगाउन बनेको गठबन्धन नटुट्ने बताएका हुन् । ‘सरकार गइहाल्यो भनेको दिनैपिच्छे सुन्नु भएको होला । दुईवटा पार्टी मिलेर यो सरकार बनेको हो, साधारण अवस्थामा प्रतिस्पर्धी मिल्दैनन् । प्रणाली र देश नै बचाउको लागि यो सरकार बनेको हो’ ओलीले भने ।
००००
राजनीतिक दलका नेताप्रति संगीन आरोप लगाउँदै आएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनिदिएको आरोप लगाएका छन् ।
शुक्रबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीलाई भेला पारेर प्रसाईंले राजनीतिक दलका नेताहरूविरुद्ध आक्रोश पोखेका हुन् । सोही क्रममा उनले प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनिदिएको आरोप लगाए ।
००००
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन् ।
००००
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट चार अन्तरराष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन ।
अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तरराष्ट्रिय उडान गरिरहेका हुन् ।
००००
मानव सेवा फाउन्डेसन र पोखरा महानगर प्रहरीबीच कोटीहोमको विषयलाई लिएर झडप भएको छ ।
नेपाल ट्रस्ट मातहतमा रहेको बाराहीघाटमा फाउन्डेसनले शुक्रबार भूमिपूजा गर्न लागेपछि विवाद उत्पन्न भएको हो ।
महानगरको अनुमतिबिना फाउन्डेसनले पूजा गर्न लागेपछि महानगर प्रहरी रोक्न पुगेका थिए ।