
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अबको तीन/चार महिनामा सेवा निवृत्त हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन जोडबल गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार सिन्धुलीको बेलघारीमा आयोजित नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर -१ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले आफ्नै पार्टीका मन्त्री दीपक खड्कासँग असन्तुष्टि जनाएका हुन् । उनले राम्रा काम गर्न नसक्ने हो भने कम्तीमा नराम्रा काम पनि नगर्न मन्त्रीहरूलाई सुझाव दिएका छन् ।
उनले ५० वटा राम्रो काम गरेका बेला एउटा मात्रै नराम्रो काम गर्ने हो भने त्यसले सबै राम्रो कामलाई छोपिदिने टिप्पणी समेत गरे ।
‘अहिले हामी सुनिरहेका छौं, ऊर्जा मन्त्रालयको । ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो, तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिपछि सरकार नै लागेको जस्तो देखिन्छ’, थापाले भने, ‘किचकिच गरिरहेको, किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरू ठीक होइनन् । उपयुक्त हुँदैन । यस्ता, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।’
उनले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको । थापाले घिसिङ सेवा निवृत्त भएपछि उक्त ठाउँमा उपयुक्त व्यक्तिलाई ल्याएर संस्थाको नेतृत्व गर्न दिन सकिने बताए ।
‘प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ। हामीहरू सहयोगी को हौं ? हामीहरू सहयोगी हौं । हामी सबै सांसदको एउटै कुरा छ- यो सरकारले राम्रो काम गरोस् । सरकार सफल बनोस्’, थापाले भने ।
थापाले प्रचण्डको चकचक र उपद्रोको कारणले अहिलेको सरकार बन्ने अवस्था आएको पनि बताए । उनले कांग्रेस अहिले सरकार बदल्ने पक्षमा नरहेको पनि प्रस्ट पारे ।
‘चुनाव आउन तीन वर्ष बाँकी छ । हामीसँग तीन वर्षको समय छ । यो सरकार कांग्रेसले नचाहँदासम्म बदलिन्न । यहाँ पनि सबै नेताहरुले भनिसक्नुभयो, यो सरकार बदल्न कांग्रेस चाहँदैन’, थापाले भने, ‘तर, जुन दिन चाह्यो त्यो दिन गयो । चाहँदैन, हामीले नचाहँदासम्म जाँदैन । अब केही समयसम्म एमालेले नेतृत्व गर्छ त्यसपछि कांग्रेसले गर्छ ।’