
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौँ फर्किँदा राजावादीहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । सो क्रममा राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।
पूर्वराजालाई स्वागत गर्न राप्रपा र राप्रपा नेपालका नेताहरु, दुर्गा प्रसाईंको अभियानमा आबद्ध अभियन्ताका साथै अन्य राजावादीहरु विमानस्थल पुगेका थिए ।
००००
राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले वर्तमान नेतृत्व र व्यवस्थाबाट देश अघि बढ्न सक्दैन भन्ने सन्देश आज पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा उर्लिएको जनसागरले दिएको बताएका छन् ।
आइतबार पूर्वराजालाई स्वागत गर्न विमानस्थल क्षेत्रमा पुगेका लिङ्देनले लोकान्तर डट्कमसँगको कुराकानीमा आइतबार उर्लिएको जनसागर अपेक्षित भएको बताए ।
००००
बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रूपैयाँ जरिवानाको निर्णय गरेको छ ।
आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै जरिवानाको पत्र काटेको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक क्रियाकलाप छाडेर राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रेरित क्रियाकलापका कारण मुलुक अफ्ठेरोमा परेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभालाई आइतबार धनगढीमा सम्बोधन गर्दै ओलीले पूर्वराजा शाहलाई राजनीतिमा आउने छुट रहेको बताएका हुन् ।
तर, संविधान विपरीतका अराजक क्रियाकलाप अस्वीकार्य भएको ओलीले बताए ।
००००
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् ।
आइतबार घिसिङले १७ पृष्ठ लामो स्पष्टीकरण ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बुझाएका हुन् ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई चार बुँदे स्पष्टीकरण सोधेको थियो ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । नेप्सेको सीईओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म १० जनाको आवेदन परेको हो ।
००००
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्गकेन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको बताए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा कायम भएको हो ।
यसदिन बजारमा २ करोड २७ लाख २६ हजार ८३ हजार कित्ताको सेयर खरिदबिक्री हुँदा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रूपैयाँको कारोबार भएको छ ।
००००
पूर्वराजाको सन्देशपछि राजावादीले सक्रियता देखाइरहेका बेला गणतन्त्रवादी दलका नेताहरू आक्रामक देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका हुन् । गणतन्त्र, संघीयता, समावेशिताजस्ता परिवर्तनका मुद्दामा आँखा लगाए पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दलका नेताहरूले दिइरहेका छन् ।
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि तीन करोड रूपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८२०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आइतबार भएको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए ।