क्यानडाको केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी सत्तारुढ लिबरल पार्टी नेता चुनिएका छन् ।
आइतबार भएको आन्तरिक मतदानमा ८५.९% मत प्राप्त गरेपछि उनी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
५९ वर्षीय कार्नीले वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्नेछन् । ट्रुडोले जनवरीमा राजीनामा दिने घोषणा गरेका थिए, तर कार्नीले पदभार ग्रहण नगरेसम्म उनी पदमा रहनेछन् ।
कार्नीले जनवरीमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि मन्त्री र सांसदहरूबाट एकपछि अर्को समर्थन प्राप्त गरेका थिए ।
उनी एक उच्च शिक्षित अर्थशास्त्री हुन्, जसले वाल स्ट्रिटमा काम गरिसकेका छन् । तर, उनीसँग प्रत्यक्ष राजनीतिक अनुभव छैन ।
ट्रुडोले उनलाई वित्त मन्त्री बन्न आग्रह गरेका थिए । पूर्व कन्जरभेटिभ प्रधानमन्त्री स्टेफन हार्परले समेत उनलाई सोही पदको प्रस्ताव गरेका थिए ।
कार्नीले बैंक अफ क्यानडाका गभर्नर हुँदा वित्तीय संकटहरू समाधान गरेका थिए ।
साथै, २०१३ मा उनी बैंक अफ इंग्ल्यान्डको पहिलो गैर-ब्रिटिश गभर्नर बनेका थिए । बेलायतमा उनले ब्रेक्जिटका नकारात्मक प्रभावलाई कम गर्न भूमिका खेलेका थिए ।
अमेरिकासँगको व्यापार युद्धको चुनौती
कार्नी प्रधानमन्त्री बन्ने तयारी गरिरहेका बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग व्यापार युद्ध चर्काउने चेतावनी दिएका छन् ।
ट्रम्प प्रशासनले इस्पात, एल्युमिनियम, डेरी तथा अन्य उत्पादनहरूमा उच्च दरको भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री बन्नुअघि नै कार्नीले अमेरिकी कदमको प्रतिवाद गरेका छन् ।
'हामीले यो लडाइँ चाहेका थिएनौं । तर, जब कसैले हामीमाथि हात उठाउँछ भने क्यानडेलीहरू सधैँ तयार हुन्छन्,' कार्नीले भने, 'अमेरिकीहरूले गल्ती नगरून्, व्यापारमा होस् वा आइस हकीमा, क्यानडा सधैं विजयी हुन्छ ।"
कार्नीले अमेरिकाले सम्मान नगरेसम्म क्यानडाले आफ्नो प्रारम्भिक प्रतिशोधात्मक शुल्क यथावत् राख्ने बताए ।
बलियो बन्दै राष्ट्रवादी भावना
ट्रम्पको व्यापार युद्ध र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने अभिव्यक्तिले क्यानडेलीहरू आक्रोशित बनेका छन् ।
एनएचएल तथा एनबीए खेलमा अमेरिकी राष्ट्रगानमा हूटिङ गरिएको छ भने धेरै क्यानडेलीहरूले अमेरिका भ्रमण स्थगित गरेका छन् ।
केहीले अमेरिकी सामान किनमेल गर्न समेत बन्द गरेका छन् ।
यसका कारण क्यानडामा राष्ट्रवादी भावना बलियो बनेको छ । लिबरल पार्टीको जनसमर्थन पनि बढ्दै गएको देखिएको छ ।
'अमेरिकीहरू हाम्रो स्रोत, पानी, भूमि र देश कब्जा गर्न चाहन्छन् । यदि उनीहरू सफल भए भने हाम्रो जीवनशैली समाप्त हुनेछ,' कार्नीले भने, 'अमेरिकामा स्वास्थ्य सेवा व्यापार हो, तर क्यानडामा यो अधिकार हो ।'
कार्नीले प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि केही दिन वा हप्ताभित्र संघीय चुनाव घोषणा गर्ने अनुमान गरिएको छ ।
विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने प्रयास समेत गरिरहेका छन् ।
ट्रुडोले लिबरल पार्टीका समर्थकहरूलाई आगामी चुनावमा सक्रियरूपमा सहभागी हुन आग्रह गरेका छन् ।
'यो देशको भविष्यका लागि महत्वपूर्ण क्षण हो । लोकतन्त्र स्वतः प्राप्त हुने कुरा होइन । स्वतन्त्रता स्वतः प्राप्त हुने कुरा होइन । क्यानडाको अस्तित्व नै स्वतः प्राप्त हुने कुरा होइन,' ट्रुडोले भने ।