
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बिमामा सुधार ल्याउन बिमा ‘प्रिमियम’ बढाउने विषयमा बहस आवश्यक रहेको बताएका छन् ।
वियनतारा र स्वास्थ्य खबर फाउण्डेशनको संयुक्त सहकार्यमा आज भएको ‘नेपालमा स्वास्थ्य बिमाः वर्तमान चुनौती र अवसरहरू’ सम्बन्धी छलफलमा उनले स्वास्थ्य बिमा ऐन पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने बताए । “प्रिमियम सङ्कलनबारे बहस हुनुपर्छ । औषधि, ओपिडी, शल्यक्रियाको प्याकेज बनाउँदा राम्रो हुन्छ । स्वास्थ्य बिमाबाट लाभान्वित हुने अवस्थाकै कारण अहिले यसबारे निकै चासो बढेको छ । सरकारले बिमा बोर्डलाई साढे सात अर्ब दिँदै आएकामा आउँदो वर्षका लागि थप वृद्धि हुनेगरी सिलिङ राखेको छ”, सचिव डा देवकोटाले भने ।
उनले स्वास्थ्य बिमाबाट गरिब, दीर्घरोगी लाभान्वित भएको बताए। सेवा प्रदायक अस्पतालले भुक्तानीका लागि झुटो दाबी नगर्ने र बिमाका लागि सबैले प्रेरित गर्नुपर्ने डा देवकोटाको भनाइ थियो ।