
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा मंगलबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बा प्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने मिक्सर ट्रक र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको डीएसपी अर्यालले बताए ।