०७ असार २०८३, आइतबार

विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनु पर्छ : डा. चन्द्र भण्डारी

चैत १, २०८१
गुल्मी
विशिष्टको सुविधा घटाएर जनताको सुविधा बढाउनु पर्छ : डा. चन्द्र भण्डारी

नेपाली कांग्रेसकानेता डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गरेका छन् । 

शुक्रबार नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत रहेका भण्डारीले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे । उनले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा जोड दिए । 

अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गर्दै उनले उनीहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताए । 

नेता भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई आग्रह समेत गरे । 
"पुराना नेताहरू सच्चिने अवस्था देखिएन, त्यसैले नयाँ पुस्ताका नेताहरूलाई मौका दिनु नै अहिलेको निकासको मुख्य उपाय हो" उनले भने ।

पुराना नेताहरूको व्यवहारकै कारण राजावादीहरूको आत्मबल बढेको तर्क गर्दै उनले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे । 

उनले सबैभन्दा बढी सम्भावना कांग्रेसबाटै भएकाले यसको विकल्पमा नलाग्न पनि शुभेक्षकहरूलाई आह्वान गरे । 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए । 

कमेन्ट गर्नुहोस्