
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा लगायतका दल सम्मिलित समाजवादी मोर्चाले सरकारको अलोकतान्त्रिक रवैयाका कारण राजावादी सल्बलाएको बताएको छ ।
यही चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रर्दशनसहितको जनसभा गर्नेबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मोर्चा आबद्ध नेताहरूले राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रवैया र गतिविधिका कारण नेपाली जनताका अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेका बताए ।
राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको, भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त बनेको र जनताको जनजीविका कहालीलाग्दो अवस्थामा रहेको मोर्चाले जनाएको छ ।
सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित बन्दा जनतामा छाएको निराशामा टेकेर राजावादी शक्तिहरू जुर्मुराएको मोर्चाका नेताहरूले बताएका छन् ।
‘(सरकार) लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेशमार्फत् सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ’, मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा असन्तुष्टि पैदा भएको मोर्चाको भनाइ छ ।
‘जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ’, विज्ञप्तिमा भनिएको छ ।

