
दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने पहल गरिरहेका छन् । उनी कहिले युक्रेनमाथि रुष्ट भएर दबाब सिर्जना गरिरहेका छन् भने कहिले रुसमाथि थप आर्थिक नाकाबन्दी गरिरहेका छन् ।
पछिल्लो समय साउदीको जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटवार्तामा युक्रेन एक महिनाका लागि युद्धविराम गर्न तयार देखियो ।
त्यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक रूपमा स्वागत गर्दै सर्तहरू तेर्स्याए । त्यसपछि युक्रेन र अन्य युरोपेली देशहरूले पूरा हुनै नसक्ने सर्त राखेर पुटिनले युद्ध लम्ब्याउन खोजेको र झुटो बोलेको आरोप लगाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै पुटिनले युद्ध लम्ब्याउने प्रयास गरिरहेको र सबैलाई झुट बोलिरहेको आरोप लगाएका छन् ।
उनले विशेष गरी कुर्स्क क्षेत्रको अवस्थाबारे पुटिनले सत्य लुकाएको बताए । जेलेन्स्कीले आफ्नो सेनाले कुर्स्कमा रुसी र उत्तर कोरियाली सेनालाई रोकिरहेको दाबी गरे ।
उनले युक्रेनको उत्तर-पूर्वी सुमी क्षेत्रमा नयाँ आक्रमणको सम्भावना रहेको चेतावनी पनि एक्समार्फत् दिएका छन् ।
‘रुसले दाबी गरे अनुसार युक्रेनी सेना कुर्स्कमा घेरिएको छैन, बरु मस्कोले त्यस क्षेत्र नजिकै अर्को आक्रमणका लागि सेना जम्मा गरिरहेको छ’, जेलेन्स्कीले भने, ‘रुसी सेनाको जमघटले शान्तिका लागि भइरहेको कूटनीतिलाई मस्कोले बेवास्ता गरिरहेको संकेत गर्दछ । रुसले युद्ध लम्ब्याइरहेको स्पष्ट छ ।’
रुसी रक्षा मन्त्रालयले शनिबार कुर्स्क क्षेत्रका रुबान्श्चिना र जाओलेशेन्का गाउँहरू पुनः कब्जा गरेको घोषणा गरेको थियो । बिहीबार, रुसले सुदझा शहरमा पूर्ण नियन्त्रण लिएको घोषणा गरेको थियो । त्यहाँ युक्रेनी सेना पछि हट्न बाध्य भएको थियो ।

जेलेन्स्कीले पुटिनलाई युद्धविराम निकै जटिल रहेको भन्दै झुट बोलेको आरोप लगाए । ‘रुसले युद्ध लम्ब्याउँदै लैजान खोजेको छ । हामीले शान्ति प्रक्रियाबारे मस्कोले निकै समय लिने गरेको र सबै कुरा सुस्त बनाउँदै लगेकोबारे पहिल्यै कुरा गरेका थियौं । अहिले मस्कोले के चाहन्छ भन्ने स्पष्ट देखिएको छ’, जेलेन्स्कीले भने ।
उनले युद्धविराम पहिले नै भइसकेको हुन सक्ने तर रुसले त्यसलाई रोक्न सबै हतकण्डा अपनाएको आरोप पनि लगाए । बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले शान्ति सम्झौताका लागि बनाइएको योजना ‘परिचालन चरण’मा पुगेको बताएका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा उनले पहिलो चरणको कार्यान्वयनका लागि आउँदो हप्ता सैन्य शक्तिहरू भेट्ने बताएका हुन् ।
स्टार्मरले शनिबार जेलेन्स्कीसहित अन्य युरोपेली नेता र सहयोगीसँग भर्चुअल कुराकानी गरेका थिए । उक्त छलफलमा रुससँगको शान्ति सम्झौता भएको अवस्थामा युक्रेनलाई जमिन, समुद्र र आकाशमा सुरक्षित गर्न इच्छुक देशहरूको गठबन्धनले मद्दत गर्ने बताए ।
हतियारको दौडमा युक्रेन पनि
जेलेन्स्कीले युद्धमा स्वदेशमै उत्पादित लामो दूरीको क्षेप्यास्त्र सफलतापूर्वक प्रयोग गरेको जानकारी दिएका छन् । नयाँ ‘लामो नेप्च्युन’ क्षेप्यास्त्रको रेन्ज १ हजार किलोमिटर (६२१ माइल) रहेको छ । 'नयाँ युक्रेनी क्षेप्यास्त्रले अब सटिक आक्रमण गर्नेछ’, उनले भने ।
जेलेन्स्कीले कीभमा आयोजित एक पत्रकार सम्मेलनमा युक्रेनसँगको युद्धमा रुसले युद्धविरामको प्रतिबद्धता जनाउनुअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहेको आरोप लगाए । उनले युक्रेनसँगको रुसको युद्धमा क्षेत्रीय प्रश्न जटिल रहेको र यसलाई पछि विस्तृत रूपमा छलफल गर्नुपर्ने बताए ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले जेलेन्स्कीको भनाइलाई समर्थन गर्दै पुटिनले ‘लडाइँ लम्ब्याइरहेको’ र सबै कुरा हासिल गरेर मात्र वार्ता गर्न चाहेको बताएका छन् ।
शनिबार एएफपीलाई दिइएको अन्तर्वार्तामा म्याक्रोंले रुसले ‘शान्तिका लागि इमान्दार इच्छा नदेखाएको’ भन्दै युरोप र संयुक्त राज्य अमेरिकालाई रुसलाई प्रस्तावित युद्धविराम स्वीकार गर्न दबाब दिन आग्रह गरे ।
अमेरिका र रुसबीचको वार्ता जारी
अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रुसी विदेश मन्त्री सर्गेई लाभरोभले शनिबार युद्ध अन्त्य गर्ने विषयमा वार्ताको अर्को चरणबारे छलफल गरेका छन् ।
अमेरिकी विदेश विभागकी प्रवक्ता ट्यामी ब्रुसका अनुसार दुई शीर्ष कूटनीतिज्ञले अमेरिका र रुसबीच सञ्चार पुनर्स्थापित गर्ने दिशामा निरन्तर काम गर्ने सहमति गरेका छन् ।
साउदी अरबले आयोजना गरिरहेको अमेरिका-रुस वार्ताको अर्को चरण कहिले शुरू हुनेछ भन्नेबारे भने विदेश विभागले केही जनाएको छैन ।
रुसी राष्ट्रपति पुटिनको पहिलो कार्यकालमा प्रधानमन्त्री रहेका तर, अहिले विरोधी बनेका मिखाइल कस्यानोभले मस्को ससर्त युद्धविराममा मात्र इच्छुक रहेको बताएका छन् ।
कस्यानोभले बीबीसी रेडियो ४ को 'टुडे' कार्यक्रममा भनेका छन्, ‘पुटिनले बिनासर्त युद्धविरामको यो प्रस्तावलाई अस्वीकार गरेका छन् । उनी ससर्त युद्धविराम चाहन्छन् । अझ, उनी आफ्नै सर्तमा युद्धविराम चाहन्छन् ।’
रुस र युक्रेनबीच आक्रमण र प्रत्याक्रमण जारी
युक्रेनले शनिबार रातभर रुसले प्रक्षेपण गरेका १ सय ३० ड्रोन खसालेको दाबी गरेको छ । कीभको वायु सेनाले १४ क्षेत्रमा इराननिर्मित शाहेद ड्रोन खसालेको बताएको छ भने रुसले दुई ब्यालिस्टिक क्षेप्यास्त्रले युक्रेनमाथि आक्रमण गरेको दाबी पनि गरेको छ ।

जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा रुसले गरेको पछिल्लो आक्रमणमा घाइते हुनेको संख्या १४ पुगेको छ ।
शुक्रबार, युक्रेनी अधिकारीले रुसले मध्य युक्रेनी शहरको आवासीय क्षेत्रमा आक्रमण गरेको दाबी गरेका थिए । द्निप्रोपेट्रोभ्स्क क्षेत्रका प्रमुख सर्गी लिसाकले टेलिग्राममा लेख्दै भनेका छन्, ‘चौध जना घाइते भए, जसमध्ये दुई बालबालिका छन् ।’
रुसी अधिकारीहरूका अनुसार रुसले दक्षिणी क्रास्नोदार क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणबाट भएको तेल डिपोमा आगो निभाउन करिब २०० दमकलकर्मी परिचालन गरेको छ ।
क्रास्नोदार क्षेत्रका गभर्नर भेनियामिन कोन्द्रात्येभले शनिबार बिहानै ब्ल्याक सीनजिकैको शहर तुआप्सेमा रहेको पेट्रोल रिजर्भ स्टेशनमा युक्रेनले आक्रमण गरेको बताए ।
युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा प्रदायक संस्थाले शनिबार रातभरको रुसी हवाई आक्रमणले द्निप्रोपेट्रोभ्स्क र ओदेसामा भएका संरचनामा क्षति पुर्याएको बताएको छ ।