१३ असार २०८३, शनिबार

११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ४, २०८१
काठमाडौं
११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । 

रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।

छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउन ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएकी थिइन् । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । 

शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन्। 

'लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने जानकारी पाएका छौँ,' उनले भनिन्, 'शव बुझ्न तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौं जानुभएको छ ।'

मलेसियादेखि काठमाडौं शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिइन् । 'वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ,' उनले भने, 'आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।'

लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहेकी थिइन् । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गरेकी थिइन्। तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो ।  

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताइन् । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । 'तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ,' लम्सालले भनिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्