
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने बाटो खुलेको छ । ८ दिने मिसनमा गएका दुवै जना ९ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका छन् ।
नासाले तिनीहरूलाई लिन विशेष अन्तरिक्ष यान पठाएको छ । अब मार्च १९ अघि स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमा फर्कने तयारी गर्दैछन् ।
उनीहरूले अब केके सुविधा पाउँछन् ? के उनीहरूलाई थप सुविधा दिइन्छ ?
नासाको अन्तरिक्ष यात्री क्याडी कोलम्यान (सेवानिवृत्त)ले एक समाचार एजेन्सीलाई अन्तरिक्ष यात्रीहरूले ओभरटाइमका लागि छुट्टै पारिश्रमिक नपाउने बताए । उनका अनुसार सुनिता र बुच दुवै कर्मचारी हुन् ।
अन्तरिक्षमा तिनीहरूको समय पृथ्वीमा कुनै पनि नियमित काम यात्राजस्तै व्यवहार गरिन्छ । यस अवधिमा उनहरूले आफ्नो नियमित तलब पाइरहेका छन्।
मिसन अवधिभन्दा आईएसएसमा बढी समय बिताएकोमा ‘अतिरिक्त पारिश्रमिक’ भन्ने प्रश्नको सन्दर्भमा कोलम्यानले नासाका नियमित कर्मचारीजस्तै त्यहाँ पनि काम गरिरहेकाले कुनै प्रकारको अतिरिक्त तलब नपाएको बताए । 'हो, उनीहरूले आकस्मिक खर्चहरू पूरा गर्न दैनिक भत्ता पाउँछन् । यसलाई थप क्षतिपूर्ति भन्न सकिन्छ, जुन नासाले उनीहरूलाई तलबबाहेक दिन्छ,' उनले भनेका छन् ।
रिपोर्टअनुसार त्यसका लागि हरेक दिन ४ डलर दिइन्छ । यस्तो अवस्थामा सबैले १ हजार १४८ डलर थप क्षतिपूर्ति मात्र पाउनेछन् ।
क्षतिपूर्तिको कुरा छाडेर अब कति पारिश्रमिक पाउने भन्ने प्रश्न पनि छ । वास्तवमा अन्तरिक्ष यात्री सुनिता र बुच अमेरिकाको सामान्य तालिका प्रणालीको तलब ग्रेडमा पर्छन् । उनीहरूले लगभग ७४ हजारदेखि एक लाख डलर वार्षिक तलब पाउँछन् ।
गत वर्ष ५ जुनमा सुनिता र बुच बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आठ दिनको मिशनका लागि प्रस्थान गरेका थिए ।
उनको अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि उनीहरू त्यतै रोकिएका हुन् ।